Back to Top

class 10 nepali guide | पाठ १५ | गाउँमाथि एउटा कविता

        पाठ १५        


         गाउँमाथि एउटा कविता


शब्दभण्डार 

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
चपरी दुबो, झार आदिसमेतको माटाको चोइलो
दुवाली माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार
भाकल आफ्‌नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
घोषणापत्र उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा लोकले युगौँदेखि संरक्षित गर्दै आएका कथा
२. दिइएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस्:
हामीलाई आकस्मिक आपत्विपत् पर्दा छिटोछरितो गरी छरछिमेकीको सरसहयोग लिन हारगुहारसमेत गर्नुपर्छ। गाउँठाउँ र सहरबजारमा जहाँ रहे पनि सानोतिनो कुरामा एकआपसमा झैझगडा गरेर एकअर्कालाई दोष लगाउने काम गर्नुहुँदैन। चाडवाड र मेलापर्व जस्ता मौकामा साथीभाइसँग भेटघाट गर्नु अनि मेलमिलाप गरे रमाइलो गर्नुपर्छ।
आपत् – विपत्
छिटो – छरितो
छर – छिमेकी
सर – सहयोग
हार – गुहार
गाउँ – ठाउँ
सहर – बजार
सानो – तिनो
चाड – बाड
साथी – भाइ
भेट – घाट
मेल – मिलाप
३. दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:
छिटोछरितो, हाँसखेल, गाह्रोसाहो, पानीपधेरो, नुहाइधुवाइ, सफासुग्घर, साथीसङ्गी, कुराकानी, हित्तचित्त, सोचविचार
सजना छिटोछरितो काम गर्छिन्। उनी हाँसखेल पनि गर्न रूचाउँछिन्। उनी गाह्रोसाह्रो पर्दा अरूलाई सहयोग गर्छिन्। उनी आज सबेरै पानीपँधेरोमा गइन्। उनले त्यहाँ नुहाइधुवाइ गरिन्। उनी सफासुग्घर रहन मन पराउँछिन्। उनका साथीसङ्गी पनि त्यहाँ पानी भर्न आइपुगे। उनीहरू आपसमा कुराकानी गर्न थाले।हित्तचित्त मिलेका साथी भएर होला, मनको कुरा पनि खोल्न थाले। आज शनिबार भएकाले दिउँसो के गर्ने भनेर सोचविचार गर्दै सजना घर फर्किइन्।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
कनिका, मेलापात, कोदालो, अगेनो, भकारी, अनौ, जाँतो, गोठ
शब्द वाक्य
कनिका सानो भाइले चामलको कनिका टिपेर परेवालाई खुवायो।
मेलापात दुर्गम क्षेत्रका अधिकाँस ग्रामीण महिला अहिले पनि चुलाचौका र मेलापातमा नै सिमित छन्।
कोदालो माल्दाइले माटो खन्न कोदालो चलाउनुभयो।
अगेनो जाडोको समयमा अगेनोको वरिपरी बसेर आगो ताप्दै ठूलाबडाको गफ सुन्न रमाइलो हुन्छ।
भकारी घरमा चामल सकिएपछि बुवाले भकारीबाट धान निकालेर त्यसलाई चामल बनाउन मिलमा पुर्याउनुभयो।
अनौ गोरू नारेर हलोको अनौ पकडेपछि माल्दाइले हातमा ठेला नउठुञ्जेल खेत जोत्छन्।
जाँतो सिमिको दाल बनाउन आमाले बिहानै जाँतोमा सिमि पिस्नुभयो।
गोठ गाईवस्तु बस्ने गोठ घरबाट केही दुरीमा बनाए घरमा झिँगा कम आउँछन्।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
आड, अङ्गुर, पिठिउँ, गुनासो, अर्जाप्नु, उब्जाउ, अन्दाज
शब्द उच्चारण
आड आड्
अङ्गुर अङ्गुर्
पिठिउँ पिठ्युँ
गुनासो गुनासो
अर्जाप्नु अर्जाप्नु
उब्जाउ उब्जाउ
अन्दाज अन्दाज्
२. “गाउँमाथि एउटा कविता” कवितालाई गति, यति मिलाई लयवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्।
(क) 'गाउँमाथि एउटा कविता' कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्द पहिचान गरी भन्नुहोस् ।
→ दलबिरेको – हिरेको,
यता – उता
बसाउनुपर्छ – नचाउनुपर्छ
(ख) कविताको सबैभन्दा छोटो पङ्क्ति कति शब्दले बनेको छ, भन्नुहोस्।
→ कविताको सबैभन्दा छोटो पङ्क्ति एक शब्दले बनेको छ।
(ग) कवितामा 'सगरमाथालाई काँधमा बोकेर उभिएको' भन्ने सन्दर्भ अगि र पछि कुन कुन प्रसङ्ग आएका छन?
→ कवितामा ‘सगरमाथालाई काँधमा बोकेर उभिएको‘ भन्ने सन्दर्भ अगि र पछि क्रमश: अन्तरिक्षयानको गतिविधि र नागरिकताको प्रमाणपत्र बाँड्ने प्रसङ्ग आएका छन्।
(घ) ‘दन्त्यकथा.... यिनीहरूलाई’ यो कथनभन्दा अगिको सन्दर्भ के हो?
→ ‘दन्त्यकथा.... यिनीहरूलाई‘ भन्ने कथनभन्दा अगिको सन्दर्भ ‘चुनावका घोषणापत्रहरू....‘ सम्बन्धी सन्दर्भ हो।
४. ‘गाउँमाथि एउटा कविता’ कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्:
(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
→ तपाईँ फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ।
(ख) विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
→ गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ।
(ग) न चुनावले रोक्छ यसलाई
→ यसलई न चुनावले रोक्छ।
(घ) एउटै इनार छ सम्पूर्ण गाउँमा
→ सम्पूर्ण गाउँमा एउटै इनार छ।
(ङ) निस्कन तयार छे जो कुनै पनि आमा
→ कुनै पनि आमा जो निस्कन तयार छे।
(च) सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
→ यो यिनीहरूलाई सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन।
(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई
→ यसको पनि यिनीहरूलाई दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन।
५. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
यो, मेरो देशको सुदूर पूर्वको गाउँ!
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ।
छिमेकी अगेनाबाट आगो ओसारेर सुरू हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिरहन्छ।
प्रश्नहरू
(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन्?
→ गाउँका मानिसले खेतीपातीको काम र वस्तुभाउ पाल्ने काम गरी कृषि पेसा व्यवसाय अपनाएका छन्।
(ख) कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ?
→ कवितांशमा केटाकेटीले गोठमा वस्तुभाउलाई घाँसपात हाल्ने र तन्नेरीले खेतमा गोरू नार्ने काम गर्ने उल्लेख छ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्।
(क) 'गाउँमाथि एउटा कविता' कविताले समेटेको मुख्य विषयवस्तु के हो?
→ नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी द्वारा रचित ‘गाउँमाथि एउटा कविता‘ समय, समाज र मानिसका अनेकौँ आयामहरूलाई अत्यन्तै सुक्ष्म चित्रण गरिएको समाजपरक कविता हो। यस कविताले ग्रामीण समाजको वस्तुगत अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। अभावमा बाँचेका ग्रामीण क्षेत्रका जनताले व्यतित गरेको दिनचर्या कविताले समेटेको मुख्य विषयवस्तु हो।
(ख) यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।
→ यस कवितामा कविले नेपालको ग्रामीण क्षेत्रको यथार्थ चित्र उतार्दै त्यहाँका समस्या केलाएका छन्। नेपालका ग्रमीण समस्याहरूलाई कतै पनि उजागर नगर्ने अखबारका सम्पादकलाई समेत कविताले सचेत गराएको छ। गाउँलाई महत्त्व नदिने र गाउँको विकासलाई ध्यान नदिने राजनीतिक दलका चुनावी घषणापत्रहरू ग्रामीण जनताका लागि सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन नसक्ने कविले स्पष्ट पारेका छन्। यस कवितामार्फत कविले नेपाल र नेपाली भनी विश्वमा चिनाउने नेपालका ग्रामीण भेग भएकाले यस क्षेत्रको विकास नभएसम्म नेपालको विकास नहुने सन्देश प्रवाह गरेका छन्।
(ग) कविताले सम्पादकलाई कसरी सचेत गराएको छ?
→ समाचारपत्रले जनतालाई सही सूचना प्रदान गर्नुपर्छ। समाचार पत्र र मुलुकको अवस्थाबिच सन्तुलन हुनुपर्छ अनि मात्र सामाजिक रूपान्तरण सम्भव हुन्छ। जनताका लागि चुनावमा भोट खसाल्ने काम भन्दा चुलो बाल्ने समस्या महत्त्वपूर्ण हुन्छ। साहित्यिक आन्दोलनको इतिहाँस पढेर जनताको आङमा कपडा फेर्न सकिँदैन। अन्तरिक्षका गतिविधिबारे चासो राख्ने फुर्सद पनि सामान्य जनताका लागि कल्पना बाहिरको कुरा हो। यसरी कविताले सम्पादकलाई व्यवहारिक र जीवन उपयोगी समाचार सम्प्रेषण गर्न सचेत गराएको छ।
(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस्।
→ प्रस्तुत 'गाउँमाथि एउटा कविता' शीर्षकको कविताले ग्रामीण समाजको यथार्थ अवस्थालाई प्रस्तुत गरेको छ। गाउँमा धेरै परालले र थोरै ढुङ्गाले छाएका घरहरू छन्। घरको दुरावस्थाले गाउँको जनजीवन, दुःख, अभाव, गरीबीको झल्को दिएको छ। धामी, झाँक्री, छुवाछुत जस्ता कुप्रथाले गाउँलाई अहिले पनि गाँजेको छ। गाउँमा अहिले पनि कुखुराको भाले बास्दा समयको अनुमान लगाइन्छ। अगेनामा नुन पड्‌काएर परदेश गएकाहरूको कुशल मङ्गलको अन्दाज गरिन्छ। गाउँ कर्ममा विश्वास गर्छ। बालीको उब्जाउ हेरेर शरीरमा कपडा र पेटमा अन्नको दाना पर्ने नपर्ने ठेगान लगाइन्छ।
गाउँका मानिसहरू छिमेकी अगेनाबाट आगो ओसारेर दिनको प्रारम्भ गर्छन्। वस्तुभाउलाई घाँसपात हालेर खेतमा गोरु नार्न पुग्छन्। गाउँमा कसैलाई पनि एकछिन फुर्सद छैन। कसैको विवाहमा जन्त जानु छ। कसैको खेतबारीमा पर्म तिर्न जानु छ। कोही बिरामी भए धामी बसाउनु छ। पर्व, जात्रा, उत्सव आए नाच्नु र नचाउनु छ। कसैको प्राण गए दाहसंस्कारका लागि लासलाई घाटमा पुऱ्याउनु छ। गाउँ एकछिन सुत्दैन। एकछिन आराम गर्न पाउँदैन तैपनि गाउँमा घाम उदाउन नसकेकामा कविले तिखो व्यङ्ग्य गरेका छन्। गाउँ वषौंदेखि अभावमा बाँचेको छ। गाउँभरि एउटा मात्र इनार हुँदा पनि गाउँलेहरू पानी पिउन नपाएको गुनासो गर्दैनन्। पिठिउँमा मजेत्रोले काखे नानीलाई बाँधेर भए पनि मेलापात गर्न छोड्दैनन्। गाउँका मानिसहरू घरायसी काम र कृषि कर्म गर्न पाउँदा खुसी हुन्छन्। उनीहरूलाई गाईभैँसीको भकारो सोहोर्ने शैली थाहा छ। हलोको हातो वा अनौ समात्ने, कोदालो धारिलो पार्ने तरिका थाहा छ। कहिले बाली लगाउने वा कहिले भित्र्याउने समय पनि थाहा छ। गाउँलेलाई नाङ्लाले भुस, कनिका र चामल निफन्ने तरिका थाहा छ। के हिउँद, के वर्षा गाउँ अहिले पनि आफ्नै लयमा गीत गाइरहन्छ।
अहिले पनि गाउँ राजनीतिभन्दा मथि रहेर आफ्नै दैनिकीमा बाँचेको छ। चुनाव, नारा, आश्वासन कुनै कुराले पनि गाउँलाई छुन सकेको छैन। चुनाव, घोषणापत्र, परिवर्तन, राजनीति जस्ता शब्दजालभन्दा पर रहेर गाउँका मानिसलाई भाकल चढाउने र कुलोमा पानी लगाउने दिन थाहा छ भन्दै कविले गाउँले जीवन, जीवनशैली, दैनिकी, बाध्यता आदिको सूक्ष्म चित्रण गरेका छन् ।
कविले गाउँअनुसारको देश अनि देश गुनाको भेष भन्ने मर्मलाई समात्न सम्पादकलाई आह्वान गरेका छन्। सुन्दर गाउँ, गाउँको जीवनशैली, गाउँका बाध्यता र अभाव अखबारका पानामा लेखिन नसकेकामा कविको गुनासो छ। कविले गर्वको इतिहास बोकेको गाउँको कथाभन्दा बमवर्षाका खबर, बालिग मताधिकार, साहित्यिक आन्दोलन र अन्तरिक्षयानका गतिविधि मात्र समाचार पत्रमा लेखिने गरेको आक्षेप लगाएका छन्। अखबारले नागरिकताको प्रमाणपत्र बाँड्ने गाउँ र नागरिक बन्न नपाएका जनताको पक्षमा वकालत गरोस् भन्ने आशय कवितामा प्रस्तुत भएको छ।
एकाइसौँ शताब्दीको उत्तरार्धतिर पनि ढिकीच्याउँ ढिकीच्याउँ गर्दै एउटा खुट्टा उचालेर ढिकीमा उभिएको र जाँतामा टाउको अड्याएर निदाइरहेको सन्दर्भले अझै पनि गाउँ विज्ञान र प्रविधिको पहुँचभन्दा बाहिर रहेको देखिन्छ। चुनावका बेला चुनावी घोषणापत्रमा लेखिने योजना केवल कागजको खोस्टो बनेका छन्। अन्तरिक्षका गतिविधि दन्त्यकथा बनेका छन् भन्दै कवितामा असन्तुष्टि भाव व्यक्त गरिएको छ।
७. व्याख्या गर्नुहोस् :
(क) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ!
→ प्रस्तुत कवितांश नेपाली पाठ्यपुस्तक कक्षा १० को ‘गाउँमाथि एउटा कविता‘ नामक गद्य कविताको अंश हो। यस कविताका रचनाकार दिनेश अधिकारी हुन्। यस कवितामा कविले ग्रामीण जनजीवनको यथार्थतालाई प्रस्तुत गरेका छन्। कवितांशले भने नेपालको पहिचानको आधारको रूपमा रहेको गाउँलाई वेवास्ता गरिनुपर्ने विडम्बनाप्रति कटाक्ष गरेको छ।
सगरमाथा हाम्रो गौरव र पहिचान हो। यसैले नेपाललाई विश्वमा चिनाएको छ। तर जसको काँधमा सगरमाथा उभिएर विश्वमा नेपालीको छाती चौडा पारेको छ, त्यही गाउँलाई हामीले बिर्सिएका छौँ। जुन गाउँले आफ्नो पीडा, सङ्घर्ष, त्याग, बलीदान र अस्तित्वको मूल्य चुकाएर राष्ट्रिय पहिचानको जग बसाएको छ, त्यसको आवाज आज नीरव (आवाज नभएको) बनेको छ। नेपालको आधाभन्दा बढी भूभाग ग्रामीण बस्तीले भरिएको छ जहाँ विकासका सामान्य पूर्वाधारहरू पनि पुगेका छैनन्। गाउँको बिहान सूर्यको उज्यालोसँग होइन, सङ्घर्षको छायाँसँग सुरू हुन्छ। त्यहाँ आज पनि धामीझाँक्री र छुवाछुतका कुप्रथाले जरो गाडेको छ। समय अघि बढे पनि गाउँ विज्ञान र प्रविधिको पहुँचभन्दा धेरै टाढा छ। यहाँ विकासका सपनाहरू केवल चुनावी घोषणापत्रमा सीमित छन्। यहाँका बाध्यता, समस्या र जीवनशैलीले अखबारका पानामा कहिल्यै स्थान पाउँदैनन्। शहरका गल्लीहरूमा समेत ग्रेनाइट र मार्बल बिछ्याइएका छन् तर गाउँका भित्री बाटाहरू हिलाम्य हुन्छन्। गाउँको यथार्थ ओझेलमा पारिएको छ, सत्ताको खेल गाउँको पीडामाथी खेलिन्छ।
अब समय आएको छ – गाउँलाई हेर्ने दृष्टि बदल्ने। विकासका वास्तविक आधारहरू पहिचान गर्दै परिवर्तनका लागि सार्थक पहलहरू गर्नुपर्छ किनभने सगरमाथा तब मात्र उचाइमा रहन्छ जब त्यसलाई काँध दिने गाउँहरू मजबुत हुन्छन्। सगरमाथाको शिर उचाल्न त्यसलाई उभ्याउने माटोलाई पनि सम्मान गर्नुपर्छ। फूलको सुगन्धको चर्चा गर्ने हो भने त्यसलाई जीवन दिने जराको पनि चर्चा गर्नुपर्छ। गाउँको अस्तित्व नै राष्ट्रको भविष्य हो र जबसम्म गाउँमा घाम उदाउँदैन, तब सम्म नेपालले विकासको शिखर चुम्न सक्दैन।
(ख) जहाँको चपरी त्यहीँको दुवाली मरेर के लानु छ...।
→ 'गाउँमाथि एउटा कविता' शीर्षकको गद्य कविताबाट लिइएको यो अंश कवि दिनेश अधिकारीद्वारा लेखिएको हो, जसलाई कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको छ। यस कविताले गाउँको आत्मनिर्भरता, सामूहिकता, र जीवनप्रतिको सरल दृष्टिकोणलाई उजागर गर्छ।
गाउँलेहरूको मान्यता छ - जहाँ जे छ, त्यसैको सही उपयोग गरेर जीवन सहजै चलाउन सकिन्छ। चपरी जहाँको हुन्छ, दुवाली पनि त्यहीँको हुन्छ। यसले ग्रामिण परिवेशको आत्मनिर्भरतालाई स्पष्ट पार्छ। यदि मानिसले आफ्नै वरिपरिका स्रोत साधनहरूको उचित प्रयोग गर्न सक्यौँ भने जीवन सरल र सुखमय हुन्छ। जन्मेपछि मर्नुपर्छ। मर्दा कसैले साथमा केही लिएर जाँदैन। गाउँमा परिश्रम र सामूहिकताको परम्परा रहेको छ। यहाँका मानिसहरू लोभ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सद्भाव कायम राख्छन्। उदाहरणका लागि, सम्पूर्ण गाउँका लागि एउटै इनार भए पनि उनीहरू कहिल्यै गुनासो गर्दैनन्, बरु सहकार्य गरेर दैनन्दिन जीवन सहज बनाउँछन्। आमाहरू आफ्ना नानीहरूलाई पिठ्युँमा बाँधेर मेलापात जान्छन्, जसले देखाउँछ कि उनीहरू आफ्नो सन्तानलाई भार होइन, जीवनको एउटा अभिन्न अंश ठान्छन्।
गाउँका मानिसहरू परिवर्तनशील समयको प्रभावभन्दा टाढा छन्। बाहिरी संसारका राजनीतिक गतिविधि, प्रविधिका विकास, वा अन्य आधुनिक सुविधाहरू उनीहरूको जीवनशैलीलाई खासै प्रभावित गर्दैनन्। उनीहरू आफ्नो परम्परागत तरिका अपनाएर सहज जीवन विताउँछन्। कविताले गाउँलेहरूको सरलता, इमानदारिता र आत्मनिर्भरतालाई चित्रित गर्दै भौतिक लालसाभन्दा सामूहिक जीवनशैली महत्वपूर्ण छ भन्ने सन्देश दिन्छ।
८. 'गाउँमाथि एउटा कविता' कविताका आधारमा ग्रामीण परिवेशबारे साथी बिच छलफल गरी निष्कर्ष लेख्नुहोस्।
→ नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०१६) द्वारा रचित 'गाउँमाथि एउटा कविता' समय, समाज र मानिसका अनेकौँ आयामहरूलाई अत्यन्तै सुक्ष्म चित्रण गरिएको समाजपरक कविता हो। यस कविताले ग्रामीण समाजको वस्तुगत अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। अभावमा बाँचेका ग्रामीण क्षेत्रका जनताले व्यतित गरेको दिनचर्या कविताका विषयवस्तु बनेका छन्।
प्रायः गाउँमा धेरै परालले र थोरै ढुङ्गाले छाएका घरहरू भेटिन्छन्। कुखुराको भाले बास्दा समयको अनुमान गर्ने परम्परागत चलन गाउँमै छ। गाउँमै अगेनामा नुन पड्काएर परदेश गएकाहरूको कुशलमङ्गलको अनुमानसमेत गरिन्छ। गाउँका मानिसहरू छिमेकी अगेनाबाट आगो ओसारेर दिनको प्रारम्भ गर्छन्। वस्तुभाउलाई घाँसपात हालेर मेलापात जान्छन्। अन्नबालीको उब्जाउ हेरेर शरीरमा कपडा र पेटमा अन्नको दाना पर्ने नपर्ने निश्चित हुन्छ भन्ने विश्वासमा गाउँलेहरू काममा व्यस्त हुने गरेको सन्दर्भ कवितामा चित्रण गरिएको छ।गाउँका आफ्नै समस्या छन्। अशिक्षा, अन्धविश्वास, अभाव, गरीबीले गाउँलाई गाँजेको छ। बर्षौँदेखि अभावका बीचमा बाँचेको गाउँ कहिल्यै निदाउँदैन, थकाइ मार्दैन। एउटै इनारको पानीले मात्र धानिनु पर्दा पनि कुनै गुनासो गर्दैन। पिठिउँमा मजेत्रोले काखे नानी बाँधेर भए पनि आमाहरू मेलापात गर्न बाध्य छन्। गाईभैंसीको भकारो सोहोर्ने, अनौ समात्ने, कोदालो खन्ने काममा गाउँको जीवन अभ्यस्त बनेको छ।गाउँका सबैलाई बाली कहिले लगाउने वा कहिले भित्र्याउने भन्ने कुरा थाहा छ। औपचारिक शिक्षा नपाए पनि अनुभवले सिर्जित चेतनाले भुस, कनिका र चामल राम्ररी छुट्याउन सक्ने भएको गाउँमाथि कविले गर्व गरेका छन्।
यसरी कविताले ग्रामीण क्षेत्रका समस्या र गाउँको दिनचर्यालाई सूक्ष्म चित्रण गरेको छ। चुनाव, नारा, आश्वासन कुनै कुराले पनि गाउँका मानिसलाई छुन नसकेको तितो यथार्थ कविताले बोलेको छ। अतः गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवेशले कविता उत्कृष्ट बनेको छ।
९. गाउँमाथि एउटा कविता' कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।
→ कवि दिनेश अधिकारीद्वारा रचित 'गाउँमाथि एउटा कविता' गद्य शैलीको कविता हो जुन उनको धर्तीको गीत नामक कवितासङ्ग्रहमा सङ्ग्रहित छ। त्यही कवितालाई नेपाली पाठ्यपुस्तक कक्षा १० मा समेत समावेश गरिएको छ। गाउँघरको जीवनस्तर उकास्न 'गाउँमाथि एउटा कविता' ले दिएको सन्देशलाई आत्मसात् गर्दै केही महत्वपूर्ण पक्षहरूमा सुधार गर्नु आवश्यक छ।
सबैभन्दा पहिला, गाउँमा व्याप्त अन्धविश्वासलाई जरैदेखि उखेल्नुपर्छ। गाउँमा अझै पनि केही रूढीवादी परम्परा र अन्धविश्वासले जरा गाडेको देखिन्छ। वैज्ञानिक सोच र शिक्षाको अभावले गर्दा मानिसहरू रोगलाई देवीको कोप मान्ने, उपचारको साटो झारफुकमा विश्वास गर्ने जस्ता गलत धारणाबाट ग्रसित छन्। यस्ता अन्धविश्वास हटाउन शिक्षाको पहुँच वृद्धि गर्नुपर्छ। विद्यालय तथा सामुदायिक कार्यक्रममार्फत विज्ञान, स्वच्छता र आधुनिक कृषि प्रविधिबारे जनचेतना फैलाउन आवश्यक छ। त्यसपछि, गाउँमा विकास पुर्याउनुपर्छ। आधारभूत पूर्वाधार जस्तै सडक, विद्युत, सफा खानेपानी, अस्पताल र विद्यालयको विकास नगरी गाउँको जीवनस्तर माथि उठ्न सक्दैन। राम्रो यातायात व्यवस्थाले गाउँका उत्पादन बजारसम्म पुर्याउन सजिलो बनाउँछ भने स्वास्थ्य र शिक्षा सेवाले समाजलाई सबल बनाउँछ। स्थानीय युवा रोजगारी खोज्दै शहर पलायन हुनुको साटो गाउँमै उद्यम गर्न सक्षम हुनुपर्छ। त्यसका लागि, स्थानीय सरकारले जनताका आवश्यकता पहिचान गरी सेवा प्रवाह गर्नुपर्छ। सरकारका नीति तथा कार्यक्रम गाउँको आवश्यकता अनुसार हुनुपर्छ। कृषिमा आधुनिकीकरण, लघु उद्यम तथा स्वरोजगार योजनाको विकास, प्रविधिको उपयोग गरी सीपमूलक तालिम दिनु आवश्यक छ। सरकारी तथा गैरसरकारी संस्थाहरूले समन्वय गरेर सेवा प्रवाह गर्नुपर्छ। यसका साथै, पत्रपत्रिकाले मुलुकको अवस्थालाई ध्यान दिएर समाचार प्रकाशन गर्नुपर्छ। गाउँका समस्याहरूलाई राष्ट्रिय स्तरमा उठान गरिएमात्र समाधानको लागि पहल गर्न सकिन्छ। गाउँका उपलब्धि, सम्भावना र कठिनाइहरूबारे सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्नुपर्छ।
अन्त्यमा, गाउँको उत्पादनले उचित मूल्य पाउनुपर्छ। कृषकले मेहनत गरी उत्पादन गरेका अन्न, तरकारी, फलफूल तथा हस्तकला सामग्री उचित मूल्यमा बेच्न पाउनु पर्छ। बजारमा पहुँच पुर्याउन सहकारी संस्था तथा सरकारी योजनाहरू प्रभावकारी हुनुपर्छ। यी सबै उपायहरू लागू गर्न सकियो भने गाउँको जीवनस्तर अवश्य माथि उठ्नेछ।
१०. आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान्, अनुमान गरी लेख्नुहोस्।
→ मेरो गाउँको पाँच वर्षपछि हुने सम्भावित परिवर्तनः
मेरो गाउँमा आगामी पाँच वर्षमा धेरै परिवर्तन आउने सम्भावना छ। हालसम्म गाउँलेहरू कृषि तथा परम्परागत पेसामा निर्भर छन्, तर प्रविधिको विकाससँगै कृषि प्रणाली आधुनिकीकरण हुनेछ। ट्र्याक्टर, मलजल व्यवस्थापन तथा सुधारिएको बीउ प्रयोग गरेर कृषकहरूले उत्पादन बढाउनेछन्। कृषि उत्पादनको उचित बजार व्यवस्थापनले किसानको आर्थिक अवस्था पनि सुदृढ गर्नेछ। यातायात पूर्वाधार सुधार हुने अपेक्षा छ। अहिले जस्तो कच्ची सडकका कारण हिलो र धूलोको समस्या हुँदैन। पक्की सडक, पुल तथा सार्वजनिक यातायातको वृद्धि हुनेछ, जसले गर्दा गाउँलेहरू सहज रूपमा शहर जान सक्नेछन्। बिजुली तथा इन्टरनेट सुविधा व्यापक रूपमा उपलब्ध हुनेछ, जसले विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षामा पहुँच दिलाउनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आउनेछ। गाउँमा रहेका विद्यालयहरूमा दक्ष शिक्षकहरू आउनेछन् र डिजिटल प्रविधिको माध्यमबाट अध्ययन–अध्यापन प्रभावकारी हुनेछ। त्यस्तै, गाउँमा स्वास्थ्य चौकीको सेवा विस्तार भई अनुभवी चिकित्सक तथा अत्याधुनिक उपचार प्रविधि उपलब्ध हुनेछ, जसले गर्दा गाउँलेहरूलाई उपचारका लागि टाढा जानु नपर्ने स्थिति बन्नेछ। गाउँमा स्वरोजगार तथा लघु उद्यमहरू बढ्नेछन्। साना उद्योग तथा सहकारी संस्थाहरूको स्थापना भई महिलाहरू आत्मनिर्भर बन्नेछन्। युवा विदेश पलायन हुनुको साटो आफ्नै गाउँमा व्यवसाय तथा स्टार्टअपहरू सञ्चालन गर्नेछन्।
यस्ता सकारात्मक परिवर्तनहरू आएमा मेरो गाउँ पाँच वर्षपछि समृद्ध, शिक्षित र प्रविधिमैत्री बन्दै जानेछ। गाउँको विकासले मात्र देशको समृद्धि सम्भव छ, त्यसैले हाम्रा साना प्रयासहरूले गाउँको उज्ज्वल भविष्य निर्माण गर्नेछन्।
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
हरेक धर्मले शुद्ध आचार वा सदाचारलाई परम धर्म मानेको पाइन्छ। सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउँछ। यसको अभावमा मानिस भौतिक सम्पन्नताले भरिपूर्ण भए पनि मनुष्यत्वका दृष्टिले जीर्ण वा कमजोर हुन्छ। हरेक मानिसभित्र सत् र असत् विचार हुन्छन्। सदाचारले नै मानिसका असत वा खराब विचारलाई नियन्त्रण गर्न सक्छ। सदाचारका लागि शरीर र मन दुवै पवित्र हनुपर्छ। सदाचारका पनि आफ्‌नै नियम छन्। सदाचारी बन्नका लागि सत्य अनि मधुर वचन बोल्नुपर्छ। आफूभन्दा उमेरले ठुलालाई आदर र सम्मान एवम् सानालाई स्नेह र सम्मान गर्न जान्नुपर्छ। सकेसम्म अरूको भलाइमा मन लगाउनुपर्छ, नसके कसैको पनि कुभलो सोच्न पटक्कै हुँदैन। सबैले आआफ्‌ना कर्म र पेसाप्रति निष्ठावान हुनुपर्छ। उदाहरणका लागि विद्यार्थीले पढाइमा एकाग्र र लगनशील बन्नु, कसैसँग शत्रुता नराख्नु, माता, पिता र गुरुको आज्ञाकारी बन्नु, असल मित्रको सङ्गत गर्नु, शाकाहारी र सन्तुलित भोजनमा जोड दिनु जस्ता कुरा नै सदाचारका आचरण हुन सक्छन्। यिनै सदाचार नै हाम्रा सत्कर्म हुन्। सत्कर्मको पालनाबाट मात्र जीवन सार्थक पार्न सकिन्छ। संस्कृतमा भनाइ छ, 'काक चेष्टा, बको ध्यान, स्वान निद्रा तथैव च' अल्पहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षण अर्थात् कागको जस्तो चनाखोपन, बकुल्लाको जस्तो ध्यान वा एकाग्रता, कुकुरको जस्तो तुरुन्तै जाग्न सक्ने सचेत निद्रा, थोरै भोजन गर्ने र पढ्नका लागि घरभन्दा टाढा रहने जस्ता विद्यार्थीले पालना गर्नुपर्ने पाँच लक्षण मानिएको छ। यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु नै उसको असल लक्षण हो।

(क) प्रश्नहरू

(अ) सदाचारलाई किन परम धर्म भनिएको हो?
→ सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउने भएकाले सदाचारलाई परम धर्म भनिएको हो।
(आ) सदाचारका नियमको सूची बनाउनुहोस्।
→ सदाचारका नियमहरू निम्नानुसार रहेका छन्ः
- सत्य र मधुर वचन बोल्ने,
- आफूभन्दा उमेरले ठुलालाई आदर गर्ने र सम्मान गर्ने,
- सानालाई स्नेह र सम्मान गर्ने,
- अरूको भलाईमा मन लगाउने र कसैको कुभलो नसोच्ने,
- आफ्नो कर्म र पेशा प्रति निष्ठावान हुने आदि।

(इ) सदाचारका लागि शरीर र मन कस्तो हुनुपर्छ?
→ सदाचारका लागि शरीर र मन दुवै पवित्र हुनुपर्छ।
(ई) विद्यार्थीका पञ्च लक्षण के के हुन्?
→ विद्यार्थीका पञ्चलक्षण निम्नानुसार रहेका छन्:
- कागको जस्तो चनाखोपन,
- बकुल्लाको जस्तो ध्यान वा एकाग्रता,
- कुकुरको जस्तो तुरुन्तै जाग्न सक्ने सचेत निद्रा,
- थोरै भोजन गर्ने,
- पढ्नका लागि घरभन्दा टाढा रहने।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्ः
(अ) अनुच्छेदको पहिलो वाक्यलाई आलड़कारिक पदक्रममा बदल्नुहोस्।
→ शुद्ध आचार वा सदाचारलाई परम धर्म मानेको पाइन्छ हरेक धर्मले।
(आ) अनुच्छेदको अन्तिम वाक्यलाई दुईओटा वाक्यमा टुक्र्याउनुहोस्।
→ यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु हो। यो नै उसको असल लक्षण हो।
(इ) अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्नुहोस्।
→ सङ्गत, पञ्च, संस्कृत।

१२. दिइएको अनुच्छेद पढ़ी तोकिएको कार्य गर्नुहोस्:
छठ पर्व विशेष गरी तराईमा मनाइने राष्ट्रिय पर्व हो। एउटै पोखरी या जलाशयको किनारमा सयौँ श्रद्धालुले सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको ज्वलन्त उदाहरण पनि हो। अहिले यस पर्वमा तराई समुदायका साथै अरू समुदायका श्रद्धालु पनि सहभागी हुने क्रम बढ्‌दो छ। यस पर्वमा तराई समुदायका मानिसले अरू समुदायका मनिसलाई समेत आमन्त्रण गरी रमाइलो गर्दै सामाजिक सद्भावको नमुना प्रस्तुत गरेको पाइन्छ। हाल तराईका साथै पहाड र राजधानीका विभिन्न स्थानमा बसोबास गर्ने समुदायका मानिस मिलेर छठ पर्व मनाउँदा सबैको जीवनमा समानता, एकता र सद्भावको सन्देश प्रवाह भएको पाइन्छ।
विभिन्न जातजातिका मानिस सहभागी भई कुनै चाडपर्व मनाएको सदभावपूर्ण कुराकानीको नमुना अभिनयसहित कक्षामा प्रस्तुत गर्नुहोस।
सद्भावपूर्ण कुराकानीको नमुनाः
स्थान: पोखरीको किनार, छठ पर्व मनाइरहेको वातावरण
व्यक्ति १ (रामेश्वर - मधेसी समुदायका सदस्य): नमस्ते हरि दाइ! मेरो निमन्त्रणालाई स्वीकार गरेर हामीसँगै छठ पर्व मनाउन आउनु भएकोमा धेरै खुसी लाग्यो।
व्यक्ति २ (हरि - पहाडी समुदायका सदस्य): नमस्कार रामेश्वरजी ! मैले धेरै पहिलेदेखि छठ पर्वको बारेमा सुनेको थिएँ, तर प्रत्यक्ष अनुभव गर्ने अवसर आज मात्र पाइयो। साँच्चै, यो पर्व त निकै भव्य र भावनात्मक रहेछ।
व्यक्ति ३ (सीता - नेवारी समुदायकी सदस्य): हो, मलाई पनि यो पर्वले निकै आकर्षित गर्यो। सूर्य देवताको पूजा, जलाशयको किनारमा दीप प्रज्वलन, अनि सबैले मिलेर मनाएको उत्सव साँच्चै मन छुने रहेछ।
रामेश्वर: छठ पर्व केवल तराईको मात्र होइन, अब यो सबै नेपालीको साझा चाड बनिसकेको छ। हामी सबै मिलेर मनाउँदा सामाजिक सद्भाव अझ बलियो बन्छ।
हरि: हो, तपाईँले ठीक भन्नुभयो। चाडपर्वले हामी सबैलाई एकतामा बाँध्छ। मैले पनि अघिल्लो वर्ष तिहारमा तपाईँलाई आमन्त्रण गरेको थिएँ, अनि आज यहाँ आउँदा आफ्नै घरजस्तै अनुभूति भयो।
सीता: हामी जुनसुकै जातजातिका भए पनि हाम्रो संस्कृतिहरू आपसमा मिसिँदा अझै सुन्दर बन्छ। यस्ता पर्वले नेपालीहरूबीचको आत्मीयता बढाउँछ। यसले राष्ट्रिय एकतामा समेत योगदान गर्छ।
रामेश्वर: बिल्कुल सही भन्नु भयो! आउनुहोस्, अब प्रसाद ग्रहण गरौँ। यसरी नै हामी सधैँ एकअर्काको चाडपर्वमा सहभागी बनौँ र सद्भावलाई अझ बलियो बनाऔँ।
(सबै हाँस्दै प्रसाद ग्रहण गर्छन् र पर्वको रमाइलो वातावरणमा रमाउँछन्।)

सुनाइ र बोलाइ

१. सुनाइ पाठ १५ सुन्नुहोस् र उपयुक्त विकल्प छनोट गरी भन्नुहोस् :
प्रश्न विकल्प टिक
(क) मानिसमा सामाजिक गुण कहिलेदेखि विकास हुन्छन्? (अ) विवाहपछि
(आ) बाल्यावस्थादेखि
(इ) युवावस्थादेखि
(ई) जन्मदेखि
(ख) समाजमा योग्य नागरिक हुनाका लागि मानिस कस्ता कुरासँग परिचित हुनुपर्छ? (अ) नैतिक चरित्र र मधुर वाणी
(आ) सामाजिक मूल्य र आदर्श
(इ) मानसिक वृद्धि र विकास
(ई) आपसी मेलमिलाप र सहयोग
(ग) सामाजिकीकरणबाट बालबालिकाको कस्तो क्षमता विकास गर्न सहयोग पुग्छ? (अ) शारीरिक विकास
(आ) व्यक्तित्व विकास
(इ) आर्थिक विकास
(ई) संवेगात्मक विकास
(घ) मानिस कस्तो प्राणी हो? (अ) सामाजिक
(आ) राजनैतिक
(इ) शिक्षित
(ई) भावनात्मक
२. सामाजिकीकरणबाट व्यक्तिलाई कस्ता फाइदा पुग्छन्, सुनाइ पाठ १५ का आधारमा भन्नुहोस्।
→ सामाजिकीकरणले व्यक्तिलाई समाजमा घुलमिल हुन मद्दत गर्छ। यस प्रक्रियाले उसलाई सामाजिक मूल्य, मान्यता, सिद्धान्त र व्यवहार सिकाउँछ जसले ऊ योग्य नागरिक बन्ने मार्गमा अघि बढ्छ। मानिस जन्मजात सामाजिक हुँदैन, तर शिक्षाको माध्यमबाट समाज स्वीकार्य व्यवहार सिक्दै जान्छ।
सामाजिकीकरणको प्रक्रियाले व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले उसलाई समाजका अरूसँग कसरी व्यवहार गर्ने, आफ्नो स्थान पहिचान गर्ने र पारस्परिक सहयोग बढाउने जस्ता कुराहरू बुझ्न सहयोग गर्छ। साथै, सामाजिक मूल्य र आदर्श आत्मसात् नगर्ने हो भने व्यक्तिलाई समाजमा घुलमिल हुन कठिनाइ हुन सक्छ।
बाल्यकालदेखि नै व्यक्तिलाई उचित संस्कारयुक्त व्यवहार गर्न सिकाइन्छ, जसले उसलाई जिम्मेवार नागरिक बन्न मद्दत गर्छ। समाजले स्वीकृत गरेका विचार, नियम, र परम्पराहरू अङ्गीकार गरेपछि मात्र ऊ समाजमा सम्मानित सदस्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण जीवनको एक अनिवार्य प्रक्रिया हो, जसले व्यक्तिलाई सामाजिक प्राणीका रूपमा विकास गर्छ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छुट्‌याएर लेख्नुहोस् :
काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग। श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो। रने नरिसाएको भए पनि हुन्थ्यो। रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो। नखाएको विष लाग्यो धनेका जिन्दगीमा। कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै!
व्याकरणिक पदक्रम आलङ्कारिक पदक्रम
श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो। काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग।
रने नरिसाएको भए पनि हुन्थ्यो। नखाएको विष लाग्यो धनेका जिन्दगीमा।
रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो। कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै!
२. दिइएको अनुच्छेदलाई आलङ्‌कारिक पदक्रममा बदल्नुहोस् :
बालक परेवाको हुलनिर पुग्यो। सेता परेवा भुरुर्र उड़े। बालक पनि सेता परेवासंग भुरुर्र उड्न खोज्यो। परेवा परको रूखमा गएर बसे। बालकले परेवालाई हेर्यो। परेवा माकुरघुर गरी कराए। परेवाले बालकलाई बाइ बाइ भने होलान्। बालकले हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो। परेवाले भोलि आउँला है भने।
→ परेवाको हुलनिर पुग्यो बालक। भुरुर्र उडे सेता परेवा। सेता परेवासँग भुरुर्र उड्न खोज्यो बालक पनि। परको रूखमा गएर बसे परेवा। परेवालाई हेर्यो बालकले। माकुरघुर गरी कराए परेवा। बाइ बाइ भने होलान् परेवाले बालकलाई। हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो बालकले। भोलि आउँला है भने परेवाले।
३. 'गाउँमाथि एउटा कविता' कविताबाट कुनै तीनओटा आल‌ङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।
आलङ्कारिक पदक्रम व्याकरणिक पदक्रम
विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ।
एउटै इनार छ सम्पूर्ण गाउँमा सम्पूर्ण गाउँमा एउटै इनार छ।
निस्कन तयार छे जो कुनै पनि आमा कुनै पनि आमा जो निस्कन तयार छे।
४. दिइएको उदाहरणलाई आधार मानी ङ, ञ, ण, न, म जस्ता पञ्चम वर्ण र शिरबिन्दु प्रयोग भएका चार चारओटा शब्द लेख्नुहोस् र तिनको शुद्ध उच्चारण गर्नुहोस् :
(क) क, ख, ग, घ वर्णको अगि ङ आउने शब्द, जस्तै मङ्गल, ……………………
→ एकाङ्की, कङ्गाल, जङ्गल, लिङ्ग, मथिङ्गल
(ख) च, छ, ज, झ वर्णको अगि ञ आउने शब्द, जस्तै व्यञ्जन, ……………………
→ गुञ्जन, सञ्चार, मनोरञ्जन, किञ्चित्
(ग) ट, ठ, ड, ढ वर्णको अगि ण आउने शब्द, जस्तै: पण्डित, ……………………
→ घण्टी, कण्ठ, काण्ड, भण्डार
(घ) त, थ, द, ध वर्णको अगि न आउने शब्द, जस्तै सन्तोष, ……………………
→ सन्त, ग्रन्थ, चन्दन, निबन्ध
(ङ) प, फ, ब, भ वर्णको अगि म आउने शब्द, जस्तैः स्तम्भ, ……………………
→ भूकम्प, पम्फा, आडम्बर, कुम्भ
(च) य, र, ल, व, श, ष, स, ह, ज्ञ अगि शिबिन्दु आउने शब्द, जस्तै संरक्षण, ……………………
→ संयोग, संविधान, संज्ञा, हिंसा
५. गाउँमाथि एउटा कविता' कविताबाट पञ्चम वर्ण प्रयोग भएका शब्द टिपोट गर्नुहोस् ।
→ अङ्गुर, ढुङ्गे, मङ्गल, अन्दाज, ढङ्ग, जन्त, सम्पूर्ण, सन्तान, समात्ने, सम्पादक, आन्दोलन, अन्तरिक्ष।
६. दिइएको अनुच्छेदलाई शिरबिन्दु प्रयोग भएका ठाउँमा पञ्चम वर्ण (ङ, ञ, ण, न, म) र पञ्चम वर्ण प्रयोग भएका ठाउँमा शिरबिन्दु बनाएर शुद्ध गरी पुनर्लेखन गर्नुहोस्।
पंकज, शंकर, संजय, संचित, कंटकनाथ, पंडित, संतोष, पफा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए। त्यसै वेला सम्योग, सम्रचना, सम्लग्न, सम्शय, संहिता आए। उनीहरूले सम्वाद गर्न थाले ।
→ पङ्कज, शङ्कर, सञ्जय, सञ्चित, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए। त्यसै वेला संयोग, संरचना, संलग्न, संसय, संहिता आए। उनीहरूले संवाद गर्न थाले।
(यहाँ “संहिता” लाई परिवर्तन गर्नु आवश्यक छैन।)

सिर्जना र परियोजना कार्य

१. 'मानव' शीर्षकमा एउटा कविता रचना गर्नुहोस् ।
→ मानव (गद्य कविता)
म जन्मिएँ गाउँमा खाली हात... त्यसरी नै,
जसरी जन्मन्छन् संसारभरका सबै बच्चाहरू,
जन्मेको एघारौँ दिनमा घाम देखेँ मैले,
र देखेँ आफ्नै शरिरमा भोटो पनि
विस्तारै बढ्दै गयो शरीर मेरो
र बुवाको जिम्मेवारी पनि
आमाको दुःख पनि!

मलाई पढाएर डाक्टर बनाउने सपना थियो बुवाको,
तर पेट भर्ने कुनै उपाय थिएन।
मेरो लागि स्कूलको ढोका उघ्रिएन,
पढाइभन्दा ठूलो थियो खेतको आली,
कापीभन्दा जरूरी थियो अन्नबाली।

म जवान भएँ, तर रोजगारी थिएन,
उमेरसँगै बढ्यो बोझ, संघर्ष घटेन।
देशमै केही गर्ने सपना देखेँ,
तर हरेक साँझ विदेश जानका लागि
चिया पसलमा बहस सुन्न थालेँ।

म वृद्ध भएँ, कमाइ गरेँ, तर खुसी किन्न सकिनँ।
छोरा–छोरी ठूलाठूला भए, तर साथमा भएनन्,
बूढेसकालमा
रोगहरूको भारी बोक्नुपर्‍यो।

यो मेरो मात्र कथा होइन,
यो त लाखौँ नेपालीहरूको पीडा हो,
जो जीवनभर संघर्ष गर्छ,
तर उही पीडाको चक्रमा अल्झिरहन्छ।
तर पनि, म आशा मार्दिनँ,
किनभने म मानव हुँ।
२. पुस्तकालयबाट एउटा बाल कविता खोजी त्यसको मूलभाव कक्षामा प्रस्तुत गर्नुहोस्।
→ तल ‘आमा’ शीर्षकको बाल कविता छ जुन कृष्णप्रसाद भट्टराई द्वारा लेखिएको होः
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।

कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।

नानी उठ्छ भनी राती अल्प अल्प निदाउने
नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने
नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।

को खा को खा भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दुधको धारा शिशुलाई नुहाउँछिन्
मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढा टाढा गए पनि ।

जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान्
धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।
कविताको मूलभावः
कृष्णप्रसाद भट्टराईद्वारा लेखिएको 'आमा' कवितामा कविले आमाको महानताका बारेमा वर्णन गरेका छन् । संसारमा आमासँग तुलना गर्न मिल्ने अर्को वस्तु छैन । आमाकै कारण हामीले यो सुन्दर संसार देख्न पाएका छौं ।
आमा सिर्जनाकी मूल हुन् । नौ महिनासम्म आफ्‌नो गर्भमा राखेर आमाले हामीलाई यो धर्ती टेकाउँछिन् । आमाले अमृत जस्तै दुधको धारा चुसाएर हामीलाई बचाउँछिन् । आमाले नै तोते बोली बोल्न र ताते ताते हिँड्न सिकाउँछिन् । उनी सधैं सन्तानकै रेखदेखमा खटिन्छन् । आमा आफू भोकै बसी सन्तानलाई खुवाउने र आफू नसुती सन्तानलाई सुताउने गर्छिन् । ईश्वरले रचेको सृष्टिको प्रक्रियालाई बचाउने काम आमाले गर्छिन् । जस्तोसुकै दुःखको अवस्थामा पनि आमाले सन्तानलाई गर्ने माया रित्तिदैन । छोराछोरीको खुसीमा खुसी हुन्छिन् । सन्तान टाढा भए पनि गौरव गर्छिन् । यिनै कारणले गर्दा आमा निःस्वार्थ देवी समान हुन्छिन् । आमाले जीवनभर हाम्रो सेवा गछिन् । आमाको माया अन्त कतै खोजेर पाउन सकिँदैन । नारीका विभिन्न रूपमध्ये आमा सबैभन्दा उत्कृष्ट रूप हो । आमाबिनाको संसार कल्पना नै गर्न सकिँदैन । आमाले बच्चाका लागि आफ्‌नो सिङ्गो जीवन दिएकी हुन्छिन् । सन्तानकै लागि आफ्‌नो सुख त्यागिदिन्छिन् । संसारमा धन भएपछि सुखसुविधा किन्न सकिन्छ तर आमाको माया न त किन्न सकिन्छ न खोजेर नै पाइन्छ । आमा र आमाको मायासित कुनै वस्तुको तुलना गर्न सकिँदैन । संसारमा भएका अन्य वस्तु खोजेर, मागेर र किनेर पनि पाउन सकिन्छ । आमाको माया अन्त खोजेर पाइँदैन ।
सृष्टिकर्ता आमाको स्थान सबैभन्दा उच्च छ । आमाको त्याग र मायाको तुलना कुनै चिजसित हुन सक्दैन । आमा जीवित रहेसम्म हामीले आमाको सेवा र सम्मान गर्नुपर्छ भन्ने विचार कवितामा कविले व्यक्त गरेका छन् ।

class 10 nepali guide | पाठ ८ | नेपाली हाम्रो श्रम र सिप | कक्षा १०

        पाठ ८        


         नेपाली हाम्रो श्रम र सिप


शब्दभण्डार 

१. दिइएका शब्दको अर्थ लेख्नुहोस्:

कला, श्रम, सितो, आलस्य, रहस्य, सम्पदा, चोखो, स्वर्ग
शब्द अर्थ
कला कुनै पनि काम राम्रोसँग गर्ने सीप, कौशल
श्रम मेहेनत, परिश्रम
सितो पाकेको चामलको दानो, भातको चुरो मरेको गेडो
आलस्य काममा मन नलाग्ने भाव, अल्छ्याईँ
रहस्य लुकेको कुरो, गोप्य, भित्री आशय
सम्पदा सम्पत्ति, वैभव, धन
चोखो जुठो नभएको, शुद्ध, पवित्र
स्वर्ग अमरावती, इन्द्रपुरी, अत्यन्त रमणीय ठाउँ, सुन्दर स्थान

२. 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस्।

बाँच्ने – साँच्ने, नखाए – नलाए, खाना – नाना, भुलाउँथें – झुलाउँथें, पाएको - गाएको

३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् :

हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौँ। वर्षायाम थियो। वेगसँग मेघ गर्ज्यो। रातो माटो र चिप्लो बाटो थियो। बाटामा बस गुडुडु गुड्दै थियो। पानी दरर दर्कँदै थियो। बरर असिना बर्सँदै थियो। हाम्रो बस टक्क अडियो। बसबाट सट्ट झरियो। हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ। हामी गएपछि होटल खचाखच भयो। केहीलाई होटलका बुढामान्छेले मुढा दिए। हामी मुढामा बस्यौँ।

→ समान संरचनायुक्त शब्द र तिनका अर्थ
सारा – सबै, सम्पूर्ण
बारा – जिल्लाको नाम, मास वा मुगीबाट बनाइएको रोटी
वेग – गति, प्रवेग, चाल
मेघ – बादल, आकाशमा जम्मा भएको जलवाष्प
माटो – मृत्तिका, मट्टी, जमिन
बाटो – पथ, मार्ग, सडक
बरर – आँशुका थोपा झर्दाको किसिम
दरर – लगातार पानी पर्दाको किसिम

४. दिइएका शब्दलाई बाक्यमा प्रयोग गर्नुहोस्:

स्वदेश, पसिना, सिप, पुर्खा, भाषा, सितो, विज्ञान
→ स्वदेश – खोखो विश्वकपको उपविजेता बन्दै नेपाली महिला र पुरूष टोली स्वदेश फर्किए।

पसिना – खाडीको गर्मीमा भन्दा आफ्नै देशमा पसिना बगाउनु उत्तम हुन्छ।

सिप – विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन आवश्यक छ।

पुर्खा – बाँदर नै आधुनिक मानिसको पुर्खा हो भनेर चार्ल्स डार्विनले सिद्ध गरेका थिए।

भाषा – नेपाली भाषा एक आर्य भाषा हो जुन दक्षिण एसियाको हिमालय क्षेत्रमा बोलिन्छ।

सितो – अन्न जति अमूल्य अरू केही पनि नभएकाले भातको सितो पनि फाल्नु हुँदैन।

विज्ञान – विज्ञान र प्रविधि कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासका लागि प्रमुख कडी मानिन्छ।

५. तपाईंको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।

· दशैँ – रोजगारी र पढाईको शिलशिलामा विदेश र शहर गएकाहरु दशैँ मनाउन घर फर्किएपछि गाउँमा दशैँको रौनक बढ्छ।

· तिहार – नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहारका कतिपय सांस्कृतिक र धार्मिक चलनमा परिवर्तन देखा पर्न थालेको संस्कृतिविद्हरू बताउँछन्।

· होली – होली पर्वमा मानिसहरू रंग र अबिर खेल्दै एक-अर्कालाई शुभकामना दिन्छन्।

· छठ – छठ पर्वमा भक्तजनहरूले सूर्य भगवानको उपासना गर्दछन्।

· बुद्ध जयन्ती – बुद्ध जयन्तिमा गौतम बुद्धको उपदेश स्मरण गर्दै शान्ति सन्देश फैलाइन्छ।

· उधौली पर्व – उधौली पर्वमा किरात समुदायले साकेला नृत्य गर्दै प्रकृतिको पूजा गर्छन्।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको उच्चारण गरी कविता पढ्‌दाको उच्चारण र तिनको स्वतन्त्र उच्चारणमा हुने भिन्नता पहिचान गर्नुहोस् :

नेपाल, पहाड, श्रम, सुन, देश
कविता पढ्दाको उच्चारण स्वतन्त्र उच्चारण
नेपाल नेपाल्
पहाड पहाड्
श्रम श्रम्
सुन सुन्
देश देश्

२. 'नेपाली हाम्रो श्रम र सिप' कवितालाई गति, यति, लय मिलाई बाचन गर्नुहोस्।

→ शिक्षकलाई देखाउनुहोस्।

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्।

(क) नेपाली हाम्रो श्रम र सिप' कविताको अन्तिम श्लोक बाचन गर्नुहोस् र उक्त

श्लोकका हरेक प‌ङ्क्तिमा कति कतिओटा शब्द छन्, भन्नुहोस्।

→ नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी – ७ शब्द

आलश्य निद्रा हीनता सारा भगाऊँ कसरी – ६ शब्द

आशिष देऊ एकै र फेरि पसिना बगाऊँ – ७ शब्द

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ – ७ शब्द

(ख) उक्त श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द

भन्नुहोस्।

→ जगाऊँ – भगाऊँ, बगाऊँ - लगाऊँ

(ग) आशिष दिने प्रसङ्ग कविताको कुन श्लोकको कन पङ्क्तिमा आएको छ?

→ कविताको अन्तिम श्लोकको तेस्रो पङ्क्तिमा आशिष दिने प्रसङ्ग आएको छ।

(घ) नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ भन्ने पङ्क्ति कवितामा कति

पटक पुनरावृत्ति भएको छ?

→ ‘नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ’ भन्ने पङ्क्ति कवितामा ३ पटक पुनरावृत्त भएको छ।

४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथें
तराई भन्छ सिंचाइ पाए म सुन झुलाउँथे
के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए।

(क) पहाडले पसिना खोज्नुको आशय खुलाउनुहोस् ।
→ पहाडले पसिना खोज्नुको आशय ‘पहाडमा परिश्रम गर्ने, मेहेनत गर्ने व्यक्तिको आवश्यकता छ’ भन्ने हो।

(ख) तराईलाई सिचाइ किन चाहिएको हो?
→ सिँचाइ भएमा धेरैभन्दा धेरै अन्न फलाउन सकिने भएकोले तराइलाई सिचाइ चाहिएको हो।

(ग) होस्टेमा हैंसे गदां देशलाई कस्तो फाइदा पुग्छ?
→ होस्टेमा हैंसे गर्दा देशभरी नै उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ।

(घ) 'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ' भन्ने भनाइलाई पुष्टि गर्नु‌होस ।
→ जन्मभूमी स्वर्गभन्दा पनि उच्च र महान् हुने हुँदा नेपालीले श्रम, सिप र पसिना आफ्नै मुलुकमा बगाई समृद्ध राष्ट्र बनाउनुपर्छ। पहाडमा पसिना बगाए पहाडलाई स्वर्ग जत्तिकै सुन्दर बनाउन सकिने र तराईमा सिँचाइ भए प्रशस्त अन्न फलाउन सकिने भएकाले श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ।

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्।

(क) नेपाली धरती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस् ।

→ नेपाली धर्ती विश्वमै अनुपम छ। नेपालको पहाडी भूभाग स्वर्गलाई बिर्साउने किसिमको छ। तराई क्षेत्रमा सुनका बाला झैँ लहलह धानका बाला झुलाउने उर्वर भूमी छ। हाम्रो देशले सृष्टीकै बेला वेद जस्तो विज्ञान पाएको थियो। देवता, ऋषि र मनुष्यको साझा भूमी नेपालमा यी सबै मिलि वेदान्त गाएका थिए। मुन्धुम, धम्मपद जस्ता महान् सम्पदा यसै देशका चिनारी हुन्। यो देश हिन्दु, बौद्ध, किराँत धर्मको आधारभूमी पनि हो। नेपालको जस्तो धार्मिक विविधता र एकता संसारका अन्य मुलुकमा विरलै पाइन्छ। अतः ऋषिमुनिहरूको तपस्या स्थल, ज्ञानको उदय र विकास भएको पवित्र भूमी, वेद, वेदान्त, मुन्धुम जस्ता महान् ग्रन्थकारहरूको जन्मभूमी भएका कारण नेपाली धरती विश्वमै महान् छ।

(ख) कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन्?

→ नेपाल धार्मिक विविधतायुक्त मुलुक हो। विश्वकै सर्वोत्कृष्ट सनातन वैदिक धर्म, शान्तिको श्रोत र कर्मयोगी बौद्ध धर्म तथा प्रकृति पुजक किराँत धर्मका अनुयायी रहेको ठाउँ नेपाल नै हो। यहाँ हिन्दु, बौद्ध र किराँत धर्मका अनुयायीहरू एकआपसमा मिलेर र अन्तरसम्बन्धित भएर बसोबास गरेका छन्। यिनीहरूबीच कुनै किसिमको वैमनस्यता छैन अपितु विविधताभित्र एकता र हार्दिकता छ, समन्वय, सद्भाव र सहिष्णुता छ। एकआपसमा सहयोग र मेलमिलाप छ। यसै तथ्यलाई कविले सुत्रात्मक रूपमा कवितामा चिनाएका छन्।

(ग) कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस्।

→ एक जना नेपाली भोको हुनु भनेको सिङ्गो नेपाल भोको हुनु हो। एउटा नेपाली नाङ्गो हुनु भनेको सम्पूर्ण नेपाल नाङ्गो रहनु हो। तसर्थ नेपालीले पेटभर खान र आङ्भरि लुगा लगाउन पाउनुपर्छ। सम्पूर्ण नेपालीलाई मनग्ये खाना र लुगाकपडा पुर्याउनका लागि हामीले आफ्नो श्रम र सीपलाई आफ्नै माटोमा खन्याउनुपर्छ। यसरी आफ्नो राष्ट्रलाई समृद्ध पार्न कविले नेपालीलाई आह्वान गरेका छन्।

(घ) नेपाली हाम्रो श्रम र सिप' कविताको मूल भाव के हो?

→ ‘नेपाली हाम्रो श्रम र सिप’ नामक कविता कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित देशभक्ति र राष्ट्रप्रेमले ओतप्रोत रचना हो। एकातिर वर्तमानमा नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृति र सभ्यतामाथि चारै दिशाबाट आक्रमण भइरहेको अवस्था छ भने अर्कोतिर नेपाली युवा जमात अध्ययन र आर्थिक उपार्जन गर्नका निमित्त विदेशिने क्रम पनि बाक्लिँदै गइरहेको छ। यस्तो विसम र असहज परिस्थितिमा नेपाली आफैँ सचेत भएर आफ्नो भाषा, धर्म, सभ्यता, संस्कृति र मौलिकताको संरक्षण र सम्वर्धनमा जुट्नुपर्छ। हाम्रो आफ्नै देशमा रोजगारीका अवसरहरू प्रशस्त छन्। सुनको कचौरा हातमा लिएर भीख माग्नुपर्ने अवस्था नेपालीको होइन। नेपाल ज्ञानविज्ञान र स्रोतसम्पदाले भरिपूर्ण र परिपूर्ण छ। सबै नेपालीका आधारभूत आवश्यकता परिपूर्ति गर्न सबै एकजुट बन्नुपर्छ। होस्टेमा हैँसे मिलाएर सबै नेपालीले चोखो श्रम र सिप स्वदेशमै लगायौँ भने देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। वेद जस्तो विज्ञान पाएको र धार्मिक विविधता भएको नेपाल विश्वकै महान् राष्ट्र भएकाले आलस्य, निद्रा र हीनतालाई त्यागेर हाम्रो पौराणिक र ऐतिहाँसिक आभालाई जोगाउनु जरूरी छ। त्यसैले स्वदेशमै आफ्नो श्रम र सिपले सिञ्चित गरेर विकसित बनाउन, विश्वसामु नेपाल र नेपालीको गौरव बढाउनुपर्छ भन्ने आशय कवितामा रहेको छ।

६. 'नेपाली हाम्रो श्रम र सिप कविताको पहिलो श्लोक शिक्षकबाट सुनेर लेख्नुहोस्।

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ
यसैले आउ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेश मै लगाऊँ।

७. दिइएका कविताका पङ्क्तिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस्।

(क) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल

→ पूर्वले विश्वकै लागि विशाल रहस्य दियो।

(ख) विश्वमै छैन धरती महान् यो देश समान

→ यो देश समान महान् धरती विश्वमै छैन।

(ग) नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी

→ नेपाल आमा यो दिव्य आभा कसरी जगाऊँ?

(घ) आलस्य निदा हीनता सारा भगाऊँ कसरी
→ सारा आलस्य निद्रा हीनता कसरी भगाऊँ?

८. भाव विस्तार गर्नुहोस्:

(क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ।

→ प्रस्तुत कवितांश ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविताबाट उद्धृत गरिएको हो। यस कविताका रचनाकार कवि मुकुन्दशरण उपाध्याय हुन्। उनले यस कवितांसमा नेपालको अस्तित्व रहेमा मात्र नेपालीको पनि अस्तित्व रहने राष्ट्रवादी चेत प्रस्तुत गरेका छन्।

देश भनेको भूगोल हो। त्यहाँका नागरिक, भाषा, संस्कृति पनि हो। भाषा, धर्म, कला र साहित्यभित्र देशको गौरव लुकेको हुन्छ, प्रतिष्ठा प्रच्छन्न रहेको हुन्छ। वर्तमान समयमा नेपाली भाषा, धर्म, संस्कृति, कला र साहित्य माथी सबै दिशाबाट आक्रमण भइरहेको छ। यसैले गर्दा एकातिर नेपालको भौगोलिक सिमाना जोगाउनु आवश्यक देखिन्छ भने अर्कातिर भाषा, धर्म, कला, संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ। यसलाई जोगाउने काम नेपाली जनताको नै हो। भाषाभित्र संस्कृति हुन्छ र भाषाले संस्कृति एवं सभ्यतालाई फैलाउने काम गर्दछ। तसर्थ, भाषा, धर्म, कला, संस्कृति र साहित्य देशका गौरव र प्रतिष्ठाका विषय हुन्। त्यसैले यस्ता अमूल्य निधिको संरक्षण र संवर्धन गर्नु आवश्यक छ। हाम्रा पुर्खाले वीरता प्रदर्शन गरेर नेपाललाई स्वतन्त्र मुलुकको रूपमा विश्वमै परिचित गराएकोले आज पनि नेपाललाई वीरहरूको मुलुक भनेर चिनिन्छ। यो गौरवगाथा र पहिचान बाँच्नुको मुख्य कारण नेपाल देशको अस्तित्व रहेकाले नै हो।

यसरी कविले प्रत्येक नेपालीमाझ राष्ट्रियभावना जगाएका छन्। नेपाल बाँचे मात्र नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउने र नेपाली भाषा, कला, साहित्यको संरक्षण हुने हुँदा यसतर्फ लाग्न प्रत्येक नेपालीलाई आह्वान गरेका छन्।

(ख) आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ।

→ प्रस्तुत कवितांश ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविताबाट उद्धृत गरिएको हो। यस कविताका रचनाकार कवि मुकुन्दशरण उपाध्याय हुन्। यस कवितांसमा मानिसले मनभरि आँट, शरीरभरि फुर्ती, हातभरि सिप एकतृत गरेर सबै भाईभाईमा एकताका साथ आफ्नो राष्ट्रलाई समृद्ध बनाउने आशिष कविले नेपाल आमासँग मागेका छन्। त्यस्तै नेपाली श्रम र सिप स्वदेशमै लगाउनका लागि नेपाली युवासमक्ष बारम्बार आह्वान पनि गरेका छन्।

परिश्रमी पुर्खाका सन्तति हामी नेपालीको आजकल परिश्रम नगरी विलासितामा रम्ने बानी बस्दै गएको छ। श्रमलाई सम्मान गर्ने हाम्रो प्रचलन पनि विस्तारै खिइँदै गएको छ। कृषिप्रधान मुलुकमा कृषक र कृषि पेशालाई हेयका दृष्टिले हेर्न थालिएको छ। हामीलाई विदेश गएर जस्तोसुकै काम गर्न पनि नहिच्किचाउने तर स्वदेशमा भने काम गर्न आलस्य महसुस गर्ने बानी परेको छ। हीनता, आलस्य, निद्रा मान्छेको उन्नति, प्रगति र समृद्धीका बाधक हुन्। त्यसलाई हटाएर कसरी जाँगरिलो बनाउन सकिन्छ भन्ने आशय कविको छ। नेपाललाई पसिना चाहिएको छ। यस मुलुकमा रहेर पसिना बगाउँदै श्रम र सिपले देशलाई समृद्ध र सुन्दर बनाउने आशिष देऊ भनी कवि नेपाल आमासँग प्रार्थना गर्दछन्।

यसप्रकार नेपाली लोकलय झ्याउरे छन्दमा संरचित माथीको कवितांशले देशलाई पसिनाको आवश्यकता भएकोले सबै नेपालीले स्वदेशमै श्रम र सिप लगाउनुपर्ने भाव व्यक्त भएको छ।

९. श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस्।

→ मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७) द्वारा रचित 'नेपाली हाम्रो श्रम र सिप' शीर्षकको कविता देशप्रेमको भाव अभिव्यक्त भएको कविता हो। यस कवितामा कवि उपाध्यायले युवालाई स्वदेशमै श्रम गर्न आह्वान गर्दै श्रम र सिपलाई स्वदेशमै उपयोग गर्न सकिने कुरा अभिव्यक्त गरेका छन्।

नेपालको अस्तित्व रह्यो भने मात्र नेपालीको गौरव बाँच्दछ। नेपाललाई बलियो बनाउन नेपाली भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै स्वदेशमा नै हाम्रो श्रम र सिप लगाउनुपर्छ। तर आजकल नेपाली युवाहरू विदेशतर्फ आकर्षित छन्। नेपालीको श्रम र सिप विदेशी माटोमा पोखिन थालेको छ। यसले पक्कै पनि देशको हित गर्दैन। नेपालको भूमि उर्वर छ। केही पनि नफल्ने वा उब्जाउ नै नहुने मरुभूमि त कतै छैन। पहाडका खेतका गरा र बारीका पाटामा अन्न र फलफूल प्रशस्त उत्पादन हुन्छ। तराईका फाँटमा सुन जस्तै पहेंलपुर धानका बाला झुलाउने मनोहर सामर्थ्य छ। केवल सिँचाइका लागि नहर वा पानीको व्यवस्था मिलाउन आवश्यक छ। यो असम्भव र गर्न नसकिने काम होइन। त्यस्तै नेपालको प्राकृतिक सुन्दरताको चर्चा गर्दै कविले सर्वोच्च शिखर सगरमाथालाई विश्वकै शिरोमुकुट भनी वर्णन गरेका छन्। पूर्वीय दर्शनको रहस्य बोकेको र ऋषिमुनिहरूले झिसमिसेमा ब्यूँझेर रहस्य सुनेको यो देश पवित्र मात्र होइन हाम्रा पुर्खाको गौरवले अनेकतामा एकता कायम गरी विश्वमा चिनाएको मुलुक पनि हो। तसर्थ धार्मिक, प्राकृतिक र सांस्कृतिक विविधतामा एकताका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिन्छ। एकातिर नेपालीसँग काम गर्ने जोस र जाँगर छ, श्रम र सिप छ भने अर्कोतिर उत्पादनशील जमिन उपलब्ध छ। तिनलाई उपयोग गरेर सम्पूर्ण नेपालीलाई मनग्ये खान र लाउन पुग्ने गरी उत्पादन गर्न सकिन्छ। युवाहरूको बिदेसिने क्रमले हाम्रा आफ्ना खेतबारी बाँझिन थालेका छन्। ती युवाहरूलाई स्वदेशमै बस्ने वातावरण मिलाई बाँझिएका खेतबारीलाई हराभरा बनाउनुपर्छ। त्यस्तै सबैले होस्टेमा हैंसे मिलाएर चोखो श्रम र सिप स्वदेशमा लगाउने हो भने पहाडले स्वर्ग भुलाउने र तराईमा सुनौला धानका बाला लहलहाउने बनाउन सकिन्छ। हिमाल, पहाड र तराईमा रहेका सबै नेपालीका आधारभूत आवश्यकता परिपूर्ति गर्न सबै एकजुट बन्नु आजको आवश्यकता हो।

त्यसैले नेपालीहरूले आफूसँग भएको श्रम र सिप प्रयोग गरेर नेपालीलाई पेटभरि खान र लाउन पुग्ने गरी उत्पादन गरौं भन्ने कविको आग्रह छ। त्यसै गरी आफ्नो भाषा, धर्म कला, संस्कृति र साहित्यको विकास गरेर देशको गौरव बढाउन सकिन्छ। यसरी कविले थोरै शब्दमा धेरै महत्त्वपूर्ण कुरा अभिव्यक्त गरेका छन्। कवितामा प्रयुक्त भाषाशैली सरल, सरस एवं मिठासपूर्ण छ।

१०. दिइएको अनुच्छेद र गजलको नमुना पढ्नुहोस् अनि गजलको संरचनाबारे कक्षामा छलफल गर्नुहोस् :

कविताका विभिन्न रूपमध्ये लघु रूप गजल हो। गजलको शाब्दिक अर्थ 'नारीसँगको प्रेमपूर्ण बातचित' भन्ने हुन्छ। यसले अहिले आफ्‌नो शाब्दिक अर्थलाई व्यापक गरी जनस्वै विषयवस्तुलाई सशक्त रूपमा प्रस्तुत गर्ने गर्छ। काव्यको श्रव्य विधाअन्तर्गत पर्ने गजलमा सङ्गीतको पनि उपयोग गरिन्छ। गजल लेखनको संरचना छुट्टै प्रकृतिको छ। यसमा अक्षर र पाउमा निश्चितता छैन तथापि यसको लेखनका क्रममा केही पक्षमा ध्यान पुऱ्याउनुपर्छ। एउटै लय वा छन्दबाट निर्मित दुई पंक्तिको योगबाट सेर निर्माण हुन्छ। सेर निर्माण गर्ने पङ्क्तिलाई मिसरा भनिन्छ। गजलको हरेक सेरमा दुई दुईओटा मिसरा हुन्छन्। गजलको पहिलो सेरलाई मतला भनिन्छ। यसमा विषयवस्तुको प्रारम्भिक उठान गरिएको हुन्छ। मतलाको पाउमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ। दुवैमा समान प्रकृतिको अन्त्यानुप्रास भएको वर्ण, पद वा पदावलीलाई रदिफ भनिन्छ। रदिफ पहिलो सेरको दुवै पङ्क्ति र अन्य सेरका दोस्रो पङ्क्तिका अन्त्यमा दोहोरिने शब्द वा पदावली हो। रदिफ या अन्त्यानुप्रासभन्दा अगाडिका शब्दमा हुने अनुप्रासलाई काफिया भनिन्छ। यसलाई पूर्वअन्त्यानुप्रास पनि भनिन्छ। यो मतलाको दुवै पङ्क्तिमा र हरेक सेरको दोस्रो पङ्क्तिमा रदिफभन्दा अगाडि आउँछ। यसर्थ रदिफभन्दा अगाडि आउने एक वा एकभन्दा बढी शब्दयुक्त अनुप्रासलाई काफिया भनिन्छ। यसलाई गजलको अनिवार्य अङ्ग मानिन्छ। रचनाकारको उपनाम दिइएको अन्तिम सेरलाई मकता भनिन्छ। त्यसरी राखिएको उपनामलाई तखल्लुस भनिन्छ। यसलाई अनिवार्य मानिँदैन।

किन चाहियो?

दुई आँखीभौँ त तयार छन्, तरबार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयारि मुहारमा
घर भन्नु भारि महल् न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको, हिसिमा किरन् पनि दाँतको
मणिमोति नीर जुहार् न हो, अरू हार पो किन चाहियो।
- मोतीराम भट्ट

→ गजल संरचना सम्बन्धमा छलफल यसरी गर्नुहोस्:

गजलका तत्त्वहरू :
१. सेर: गजलका दुई पङ्क्तिलाई सेर भनिन्छ। सेरको पहिलो पङ्क्तिलाई ए उला र दास्रो पङ्क्तिलाई ए सानी भनिन्छ । ५ ओटा सेर भएको गजललाई आदर्श गजल भनिन्छ।
जस्तै: सुन झैँ हजारचोटि खारे पो जिन्दगी हो, (ए उला)
        कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो? (ए सानी)

२. काफिया: स्वरात्मक रूपमा रदिफभन्दा ठीक अगाडि बारम्बार दोहोरिएर आउने शब्द नै काफिया हो । काफिया नै गजलको मुटु हो। गजल विधा भनेर छुट्याउने मुख्य तत्त्व नै काफिया हो।

गमलामा फूल साऱ्यौ खासै कमाल के भो
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो

हो काल चञ्चले छ आफ्नै लहडमा चल्छ
त्यसलाई च्याप्प छोपी नारे पो जिन्दगी हो

३. रदिफ: काफियापछि निरन्तर दोहारिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। रदिफ पहिलो सेरको दुवै पङ्क्ति र अन्य सेरको दोस्रो पङ्क्तिमा आउने गर्छ। यो एक किसिमको अन्त्यानुप्रास पनि हो। जस्तैः माथीको मोतीराम भट्टको गजलमा पो किन चाहियो

४. मतला: गजलको प्रारम्भको सेरलाई मतला भनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक छ। अन्यथा यो मतला नभएर सेर मात्र हुन्छ। माथीको गजलमाः
दुइ आँखिभौं त तयार छन्, तरवार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो।

५. मकता : गजलको अन्तिम सेरलाई मकता भनिन्छ। अन्तिम सेरमा लेखकको उपनाम पनि दिने चलन छ। त्यसरी राखिएको उपनामलाई तखल्लुस भनिन्छ तर यो अनिवार्य भने छैन।

११. कविताका सुरूका चार प‌ङ्क्तिबाट कनै दुईजोडी बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस्।

→ पहिलो चार पङ्क्तिबाट बोध प्रश्न र उत्तरहरू निम्नानुसार छन्ः
(क) हामी नेपालीको गौरव कसरी बचाउन सकिन्छ?
उत्तरः नेपालको अस्तित्व जोगाएर हामी नेपालीको गौरव बचाउन सकिन्छ।

(ख) नेपाललाई कसरी बलियो बनाउन सकिन्छ?
उत्तरः हाम्रो श्रम र सिपलाई स्वदेशमै लगाएर नेपाललाई बलियो बनाउन सकिन्छ।

१२. दिइए‌को अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नु‌होस्।

मानव समाजमा विपत्ति तथा जोखिमका पर्याप्त सम्भावना छन्। व्यक्तिगत जीवन, रोजगारी, व्यावसायिक कारोवार आदि सबैमा जोखिम व्याप्त रहेको छ। बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो। बिमितले एक निश्चित रकम बिमकलाई दिने बिमा एक प्रकारको सम्झौता हो। यसरी बिमकलाई आकस्मिक सङ्कट उत्पन्न भएमा एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने भनी गरिने प्रतिज्ञा नै बिमा हो। बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सकिन्न तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ। वित्तीय रूपमा हुने हानि नोक्सानीको क्षतिपूर्ति प्रदान गरेर बिमाले जोखिमबाट बच्न सहयोग गर्छ। यो दुई पक्षका बीचमा हुने करार पनि हो। बिमालाई निजी र सरकारी दुई प्रकारमा वर्गीकरण गरिएको छ। निजी बिमालाई पनि जीवन बिमा र सम्पत्ति तथा दायित्व बिमा गरी विभाजन गर्न सकिन्छ। मानिसको जीवनसँग सम्बन्धित जोखिम विरुद्ध गरिने बिमालाई जीवन बिमा भनिन्छ। हिजोआज प्रत्येक व्यक्तिले अनिश्चित जोखिमको सुरक्षाका लागि बिमा गर्छन्। सम्पत्ति तथा दायित्व बिमामा अग्नि बिमा, सामुद्रीक बिमा, आकस्मिक बिमा पर्छन। त्यस्तै गरी सरकारी बिमालाई पनि सामाजिक बिमा र अन्य सरकारी बिमामा विभाजन गर्न सकिन्छ। सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, बेराजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन्। अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्‌घीय बाढी पहिरो बिमा, सङ्‌घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन्। बिमाले हानि या नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुऱ्याउँछ। हिजोआज सरकारले स्वास्थ्य बिमालाई पनि उच्च प्राथमिकतामा राखेको छ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यले स्वास्थ्य बिमालाई उपयोगमा ल्याइएको हो।

(क) प्रश्नहरू
(अ) बिमा भनेको के हो?
→ अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्नका लागि गरिएको करार सम्झौता वा माध्यम नै विमा हो।

(आ) बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस्।
→ बिमकलाई आकस्मिक सङ्कट आइपरेमा एक निश्चित रकम वा क्षतिपूर्ति दिन भनी बिमक र बिमितका बिचमा गरिने करार भएकाले यसलाई एक प्रकारको सम्झौता मानिन्छ।

(इ) सामाजिक बिमा अन्तर्गत के के पर्छन्?
→ सामाजिक बिमा अन्तर्गत बृद्धावस्था, आश्रित तथा अशक्त बिमा, बेरोजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अशक्तता बिमा आदि पर्दछन्।

(ई) बिमाबाट के के फाइदा हुन्छ?
→ बिमाबाट हानि वा नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानी कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा हुन्छ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्।
(अ) अनुच्छेदबाट एक एकओटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस्।
→ उद्देश्य विस्तार वाक्य – हिजोआज प्रत्येक व्यक्तिले अनिश्चित जोखिमको सुरक्षाका लागि बिमा गर्छन्।
→ विधेय विस्तार वाक्य – बिमा एक प्रकारको सम्झौता हो।

(आ) अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
→ जटिल वाक्यः बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ।
→ सरल वाक्यमा परिवर्तन गर्दाः बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ती रोक्न सक्दैन। यस्ता विपत्तीबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ।

(इ) अनुच्छेदबाट ‘ष’, ‘श’ र ‘स’ प्रयोग भएका एक एकबोटा शब्द टिपी तिनको अर्थ लेख्नुहोस्।
श – अशक्त (कमजोर वा दुर्बल)
→ ष – कोष (अन्नहरू सुरक्षित राखिने भण्डार; ढुकुटी)
→ स – समाज (एकै स्थानमा बसोवास गर्ने मानिसहरूको समूह)

१३. दिइए‌को सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्।

अरूबाट सम्मान पाउन मान्छे दयालु हुनुपर्दो रहेछ। यसका लागि दुःखमा परेका मानिस र छरछिमेकका मानिस तथा कार्यालयमा आफ्ना सहकर्मीलाई आफूले सकेको वा जानेको सहयोग गर्नुपर्दो रहेछ। अरूलाई सहयोग गर्ने बानीबाट उनीहरूको सम्मान पाउन सकिँदो रहेछ। आफ्नो सम्मान पाउन अरूलाई सम्मान दिनुपर्दो रहेछ। आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नु हाम्रो संस्कारको एक हिस्सा पनि हो। अरूबाट सम्मान पाउन अरूको कुरा राम्रोसँग सुन्नु पनि पर्दो रहेछ। जब तपाईँ मानिसको कुरो ध्यान दिएर सुन्नुहुन्छ त्यतिखेर मात्रै उनीहरूको नजरमा तपाईँप्रतिको सम्मान बढ्छ। सम्मान पाउन सामाजिक पनि बन्नुपर्दो रहेछ। यसका लागि आफ्नो जनसम्पर्कलाई राम्रो बनाउनुपर्दो रहेछ। नरिसाउने, खुसी रहने, अरूसँग हाँसेर कुरा गर्ने व्यक्ति पनि सम्मान पाउन लायक हुँदोरहेछन्।

तपाईँका कक्षामा एकजना लोकप्रिय समाजसेवी आउनुभयो। कक्षाका विद्यार्थी पालैपालो बोलेर ती व्यक्तिका विशेषता बताउँदै तिनको सम्मान कसरी गर्नुहुन्छ, अभिनय गर्नुहोस्।

सुनाई र बोलाई

१. सुनाइ पाठ ८ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस्।

(क) सजीव तत्व भन्नाले के बुझिन्छ?
→ सजीव तत्व भन्नाले सुक्ष्म जिवाणुदेखि ठूलाठूला जनावरका साथै बोटविरूवा जस्ता पृथ्वीको सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ।

(ख) पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ?
→ पृथ्वीको वातावरणलाई वातावरणीय तत्वको समानुपातिक संरचनाका आधारमा जल, स्थल र वायु गरी प्रमुख तीन भागमा वर्गीकरण गरिएको छ।

(ग) महासागरको पानी नुनिलो हुनाको कारण के हो?
→ महासागरमा नुनको मात्रा अधिक हुने हुनाले त्यहाँको पानी नुनिलो हुन्छ।

(घ) वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ?
→ वायु वातावरणमा चराचुरूङ्गी तथा किटपतङ्गको वातावरण पर्छ र यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको सिर्जना हुन्छ।

२. पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के के कुरामा ध्यान पुर्याउनुपर्छ, सुनाइ पाठ ८ का आधारमा भन्नुहोस्।

→ पारिस्थितिक प्रणालीको सन्तुलनका लागि हामीले जल, स्थल र वायु गरी तीनवटै क्षेत्रको स्वच्छतामा ख्याल पुर्याउनुपर्छ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएका वाक्य पढी उद्देश्य, विधेय तथा तिनको विस्तार पहिचान गर्नुहोस्।

(क) 
(अ) उद्देश्य हिँड्यो।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो

(आ) कर्ता भनिने वाक्यको उद्देश्य क्रिया भनिने विधेय खोज्न हिँड्यो।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो,
    उद्देश्य विस्तारः कर्ता भनिने वाक्यको,
    विधेय विस्तारः क्रिया भनिने विधेय खोज्न

(इ) आफ्ना बायाँपट्टिका सबै पदलाई उद्देश्य विस्तार मान्ने वाक्यको कर्ता भनिने उद्देश्य चाहिँ आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न हिँड्यो ।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो
  विधेय विस्तारः आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न

(ख) माथिका तीनओटै वाक्यमा रेखाङ्कित उद्देश्य र विधेय उही छ । पहिलो वाक्य उद्देश्य र विधेय मात्र भएको वाक्य हो । दोस्रो वाक्यमा उद्देश्यभन्दा अगाडि तीनओटा पद भएको एउटा पदसमूह छ त्यो उद्देश्यको विस्तार हो भने विधेयभन्दा अगाडि चारओटा पद भएको पदसमूह छ । त्यो विधेयको विस्तार हो ।

तेस्रो वाक्यको उद्देश्य, विधेय, उद्देश्य विस्तार र विधेय विस्तार पद कुन कुन हुन्? कक्षामा शिक्षकलाई बताउनुहोस्।

२. दिइएका वाक्यबाट उद्देश्य र विधेय छुट्याउनुहोस् :

(क) ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए।
(ख) माथ्ला घरकी साहिँली दिदी असाध्यै छिटो छिटो हिँडिन्।
(ग) विचार गर्दागर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे।
उद्देश्य विधेय
कृष्ण राय थिए
दिदी हिँडिन्
कृष्ण राय सम्झे

३. दिइएका अनुच्छेद पढी सरल र जटिल वाक्य पहिचान गर्नुहोस् :

(क) ऋषिले वेद लेखे। त्यो वेदमा ज्ञान छ। ऋषि हिमाली पाखामा बसे। उनले त्यहीं वेद लेखे। व्यासले पुराणका गाथा गाए। व्यासले पुराण नेपाली भाकामा गाए। हाम्रो हिमाल राम्रो छ। हाम्रो पहाड राम्रो छ। हाम्रो तराई राम्रो छ।

(ख) ऋषिले जुन वेद लेखे त्यो वेदमा ज्ञान छ। ऋषि जुन हिमाली पाखामा बसे त्यहीं बसेर वेद लेखे। व्यासले जुन पुराणका गाथा गाएका छन् ती सबै नेपाली भाकामा गाएका छन्। हाम्रो हिमाल राम्रो छ भने हाम्रो पहाड र तराई राम्रो छ ।

(ग) ऋषिले वेद लेखे र त्यो वेदमा ज्ञान छ । ऋषि हिमाली पाखामा बसे अनि उनले त्यहीं वेद लेखे । व्यासले पुराणका गाथा गाएका छन् र ती सबै नेपाली भाकामा छन् । हाम्रो हिमाल राम्रो छ अनि हाम्रो पहाड र तराई राम्रो छ ।

माथिको 'क' को अनुच्छेदका वाक्य सरल वाक्य हुन् भने 'ख' र 'ग' का अनुच्छेदका वाक्य जटिल वाक्य हुन्। जटिल वाक्य अन्तर्गतका 'ख' का मिश्र वाक्य हुन् भने 'ग' का संयुक्त वाक्य हुन्।

४. जुन - ती, जति त्यति, भने, भन्ने जस्ता सापेक्ष संयोजक जोडेर पाँचओटा मिश्र वाक्य बनाउनुहोस्।

- जुन किताब मन पर्छ ती लैजाऊ।

- जतित्यति खाऊ।

- जति पढ्यो त्यति ज्ञान प्राप्त हुन्छ।

- तिमी गीत लेख्छौ भने म सङ्गीत भर्छु।

- तिमी डाक्टर बन्छौ भन्ने मलाई पहिले नै थाहा थियो।

५. र, अनि, वा, अथवा, तर जस्ता निरपेक्ष संयोजक जोडेर पाँचओटा संयुक्त वाक्य बनाउनुहोस्।

- प्रकृति बजार गई किताब किनी।

- प्रकृति बजार गई अनि किताब किनी।

- सफलता चाहन्छौ भने मेहनत गर वा असफलताको सामना गर।

- तिमी आऊ अथवा भाइलाई पठाऊ।

- मैले सजनालाई बोलाएँ तर उनी आइनन्।

६. दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) जब गड्गडाएर पानी पर्यो तब बाढी आयो। (सरल वाक्य)
→ गड्गडाएर पानी परेपछि बाढी आयो।

(ख) कुकुर भुक्छ। कुकुरले टोक्दैन। (मिश्र वाक्य)
→ जुन कुकुर भुक्छ त्यो कुकुरले टोक्दैन।

(ग) ऊ राम्रो पढ्छ र सफल हुन्छ। (सरल वाक्य)
→ ऊ राम्रो पढ्नाले सफल हुन्छ।

(घ) घाम लाग्यो। न्यानो भयो। (संयुक्त वाक्य)
→ घाम लाग्यो अनि न्यानो भयो।

(ङ) म धेरै हिँडे। मेरा खुट्टा दुखे। (मिश्र वाक्य)
→ जब म धेरै हिँडे तब मेरा खुट्टा दुखे।

(च) श्रमिकले श्रम गर्छन्। श्रमिकले जीविकोपार्जन गर्छन्। (संयुक्त वाक्य)
→ श्रमिकले श्रम गर्छन् अनि जीविकोपार्जन गर्छन्।

७. आफ्नो परिचय १० वटा सरल वाक्यमा दिनुहोस्।

→ मेरो नाम ......... हो। म कक्षा १० मा पढ्छु। मेरो बाबा कृषक हुनुहुन्छ। मेरो बाबाले गाईवस्तु पनि पाल्नुभएको छ। मेरी आमा गृहणी हुनुहुन्छ। मेरी आमाले घरका सबै काम गर्नुहुन्छ। म मेहेनतका साथ पढ्छु। मलाई गुरुहरूले पनि माया गर्नुहुन्छ। मेरी एकजना बहिनी पनि छिन्। उनी कक्षा ९ मा पढ्छिन्।

८. प्रश्न नं. ७ मा लेखिएको उत्तरलाई पाँचओटा संयुक्त वाक्यमा रूपान्तरण गर्नुहोस्।

→ मेरो नाम ......... हो र म कक्षा १० मा पढ्छु। मेरो बाबा कृषक हुनुहुन्छ र मेरो बाबाले गाईवस्तु पनि पाल्नुभएको छ। मेरी आमा गृहणी हुनुहुन्छ अनि मेरी आमाले घरका सबै काम गर्नुहुन्छ। म मेहेनतका साथ पढ्छु र मलाई गुरुहरूले पनि माया गर्नुहुन्छ। मेरी एकजना बहिनी पनि छिन् अनि उनी कक्षा ९ मा पढ्छिन्।

९. दिइएको अनुच्देछ पढी ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका शब्द रेखाङ्कन गर्नुहोस्।

शवगृहमा आफन्तको शव देखेर आएजति सबका आँखा रसाएषोडश वर्षीय विस्ट सर सङ्खुवासभा, सोलुखुम्बु, पर्सा, सिराहा घुमेर हिजो मात्र सुर्खेत पुगेका र आजै नेपाल वायुसेवाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए। कठै! उनलाई राती हृदयघात भएछ। उनलाई श्रद्धाञ्जली दिन शम्भु सर, श्रुति मिस, विष्णु सरसन्देश सर पनि आइपुगेका थिए।

१०. ‘नेपाली हाम्रो श्रम र सिप’ कविताबाट ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका तीन तीनवटा शब्द लेख्नुहोस्।

→ श – विशाल, देश, शिरोमुकुट
→ ष – भाषा, ऋषि, आशिष
→ स – साहित्य, पसिना सम्पदा

११. दिइएको अनुच्छेदमा ‘श’, ‘ष’ र ‘स’ प्रयोगसम्बन्धी अशुद्धि सँच्याएर पुनर्लेखन गर्नुहोस्।

→ उषा भनेको बिहान हो र निशा भनेको साँझ हो। हाम्रो बसोबास शहरमा छ। राती भयो भने गाउँबाट शहरमा सजिलै पुग्न सकिँदैन। नत्र धेरै कष्टसहित अँध्यारामा शहर फर्कनुपर्छ।

सिर्जना र परियोजना कार्य

१. दिइएको गजल पढ्नुहोस् र एउटा मुक्तक वा गजल तयार पार्नुहोस्।

फरक छन् नजरको कुरा के गरूँ खै
म गाला अधरको कुरा के गरूँ खै।

कलेटी परेको छ सुन्दै छु लाली
नमिठो खबरको कुरा के गरूँ खै।

दिँदै दिन्न केही दिए चोट दिन्छ
निठुरी शहरको कुरा के गरूँ खै।

बदर नै सदर छ सदर नै बदर छ
सदरको बदरको कुरा के गरूँ खै।

न यता न उता स्विकार भएँ,
आश गरेकै बाट दिक्दार भएँ।

म अम्ल तिमी क्षार लवण बनाऔँ भन्थेँ,
एक्लो छु आज भिनेगार भएँ।

एक स्वाभिमान थियो घटेर गयो
त्यसका लागि आफैँ जिम्मेवार भएँ।

चाहेको होइन यस्तो होस जीवनमा
तर प्रतिदिन कसैबाट व्यापार भएँ।
- महेश बराल

२. रेडियो, टेलिभिजन वा विद्युतीय सामग्रीबाट आफूलाई मन पर्ने गीति कविता टिपोट गरेर कक्षामा सुनाउनुहोस्।

→ यो कविता कवि माधव घिमिरेद्वारा लिखत गिती कविता हो ।
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२
उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)२
  तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको
  ए कहाँबाट संसार हेर्छौ (सन्झ्यालै नरहे)३
   
  दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
  हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
  बैँसको तालमा नाचौँला कहाँ (मादलै नरहे)३
  
  ए कति राम्रो बिहानी पख घामको रेखी हो 
सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो  
  बिम्झौँला कहाँ पुर्वको पैलो (उज्यालै नरहे)३
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२