Back to Top

तारवाला हेडफोनको पुनरागमन (Comeback of Wired Headphones)

तारवाला हेडफोनहरू बजारमा फेरि फर्किएका छन्। तारवाला हेडफोनहरूलाई 'फ्लपी डिस्क' जस्तै व्यवहार गर्न थालिएको धेरै भएकै छैन। घरका घर्राका कुनाहरूमा पुराना चार्जरहरूसँगै जेलिएका हेडफोन नामका ती सेता साना अवशेषहरू सायद् सन् २०१४ देखि त्यहीँ छन्। त्यसपछि आयो सन् २०१६। यो त्यही वर्ष थियो जब एप्पलले आईफोन ७ बाट 'हेडफोन ज्याक' हटाउने निर्णय गर्‍यो र यसलाई 'साहस' (Courage) को संज्ञा दियो। यो कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो 'रिब्रान्डिङ' अभ्यासमध्ये एक थियो। सोच्नुहोस् त! विश्वव्यापी रूपमा उपयोगी एउटा यस्तो सुविधा हटाउने र त्यही कुरा चलाउन छुट्टै 'एडप्टर' बेच्ने। सुन्दा निकै हाँस्यास्पद नै सुनिन्छ, होइन र?
तर उद्योगले तुरुन्तै यसको सिको गर्‍यो। एन्ड्रोइड कम्पनीहरूले सुरुमा सार्वजनिक रूपमा एप्पलको खिल्ली उडाए, तर केही महिनापछि कुनै माफिया फिल्मका डराएका भिलेनले जस्तै चुपचाप आफ्ना फोनबाट पनि हेडफोन ज्याक हटाइदिए। अनि यसरी, मानव जाति 'ब्लुटुथ युग' मा प्रवेश गर्‍यो। यस्तो युग जहाँ सङ्गीत सुन्नका लागि हेडफोन चार्ज गर्नुपर्ने, पेयरिङ गर्नुपर्ने, सफ्टवेयर अपडेट गर्नुपर्ने र हेडफोनको एउटा हराएको 'इयरबड' को सट्टा दुइटाको मूल्य तिर्नुपर्ने भयो। हेडफोन अब एउटा 'सफ्टवेयर' बन्यो।

अप्रत्याशित पुनरागमन:

सबै अपेक्षा विपरित, तारवाला हेडफोनहरू फेरि फर्किएका छन्। यो केवल ती 'अडियोफाइल्स' (Audiofiles) हरूका लागि मात्र होइन जोसँग ६ वटा एम्प्लिफायर छन् र जसले ध्वनिको गुणस्तरलाई महँगो रक्सीको स्वाद जस्तै व्याख्या गर्छन्। यसको पुनरागमनले मानिसहरूलाई 'बेस' (Bass) मनपर्छ भन्ने मात्र होइन, बरु मानिसहरू अब थकित भइसकेका छन् भन्ने सन्देश पनि दिन्छ। तथ्याङ्कहरूले पनि यही भन्छन्। वर्षौँसम्म तारवाला हेडफोनको व्यापार मृतप्रायः देखिन्थ्यो। रिपोर्टहरूका अनुसार, यसको बिक्री लगातार पाँच वर्षसम्म घटिरह्यो। सन् २०२४ मा मात्रै यो विधाले लगभग ४ करोड २० लाख डलरको व्यापार गुमायो।
त्यसपछि सन् २०२५ मा केही अनौठो भयो। सन् २०२५ मा तारवाला हेडफोनको बिक्री ३% ले बढ्यो। आम्दानीमा करिब १ करोड ५० लाख डलरको वृद्धि भयो। वर्षको तेस्रो त्रैमासिकमा यसको बिक्रीमा तीव्रता आयो। जुलाई र डिसेम्बर २०२५ को बीचमा वृद्धिदर १०% पुग्यो। र वास्तविक अचम्म त सन् २०२६ को पहिलो ६ हप्तामा देखियो, जहाँ व्यापार अघिल्लो वर्षको तुलनामा २०% ले बढ्यो। यो बजारको वास्तविक 'यू-टर्न' हो। विशेष गरी उपभोक्ता प्रविधिमा, कुनै चिजलाई 'आउटडेटेड' घोषणा गरिसकेपछि त्यो फेरि ब्युँतनु दुर्लभ कुरा हो।

व्यवहारिकता र सादगी:

स्पष्ट पारौँ, कुल आम्दानीको ८०% हिस्सा अझै पनि वायरलेस अडियोकै छ। तर तारवाला हेडफोनको पुनरागमन साँस्कृतिक रूपमा महत्वपूर्ण छ किनभने यो असम्भव मानिएको थियो। सबैभन्दा रमाइलो पक्ष त के छ भने, सस्तो तारले महँगो आविष्कारलाई जितिरहेको छ।
यसको आकर्षणको एउटा मुख्य कारण व्यवहारिकता हो। एउटा सर्वेक्षण अनुसार, औसत तारवाला हेडफोनको मूल्य १३ डलर छ भने वायरलेसको करिब ९९ डलर। र उपभोक्ताहरूले सोधिरहेका छन्: “मैले पहिले नै राम्रोसँग काम गरिरहेको चिजमा ब्याट्री, चार्जिङको तनाव र कनेक्टिभिटीको समस्या थप्नका लागि आठ गुणा बढी पैसा किन तिर्ने?”
आजभोलि हरेक ब्लुटुथ जडान दुई अदृश्य राष्ट्रहरूबीचको शान्ति वार्ता गराए जस्तै झन्झटिलो महसुस हुन्छ। 'Connected', 'Disconnected', 'Pairing Failed'। जीवनका हरेक आधुनिक वस्तुलाई अहिले बिजुली, अपडेट र अनावश्यक हेरचाह किन चाहियो? मेरो हेडफोन चार्ज गर्नुपर्छ, घडी चार्ज गर्नुपर्छ, यहाँसम्म कि मेरो दाँत माझ्ने ब्रसको पनि आफ्नै सफ्टवेयर (Firmware) छ! अर्कोतर्फ, तारवाला हेडफोनको आफ्नै 'क्रान्तिकारी रणनीति' छ: तार जोड्नुहोस्, सङ्गीत बज्छ।

साँस्कृतिक विद्रोह:

अडियो विशेषज्ञहरू सही थिए। वर्षौँसम्म उनीहरूले अनलाइन फोरमहरूमा चिच्याउँदै भने कि 'तारवाला अडियोको आवाज राम्रो हुन्छ' तर कसैले सुनेन। सायद उनीहरूको बोल्ने शैली अलि पुरानो जमानाको भएर होला, तर उनीहरू सही थिए। व्यावसायिक सङ्गीतकार, सम्पादक र इन्जिनियरहरूले तारलाई कहिल्यै छोडेका थिएनन्।
तर यो केवल ध्वनिको गुणस्तरको कुरा मात्र होइन। यदि त्यसो हुन्थ्यो भने यो एउटा सानो समूहमा मात्र सीमित हुन्थ्यो। बरु, तारवाला हेडफोन अब एउटा 'फेसन' बनेको छ। लिली रोज डेप र बेला हदिद जस्ता सेलिब्रेटीहरू तारवाला हेडफोनमा देखिन थालेका छन्। फेसन सम्पादकहरूले यसलाई 'सहज' र 'एनालग' भन्न थालेका छन्। सुन्दा हाँसो लाग्छ, तर फेसनले सधैं 'दृश्यमान अलगाव' (Visible Disengagement) लाई मन पराउँछ।
वायरलेस इयरबडहरू कानमा हराउँछन्, तर तारवाला हेडफोनले आफ्नो उपस्थिति झल्काउँछन्। तिनले भन्छन्, "म अहिले उपलब्ध छैन, धन्यवाद।" यस्तो समयमा जहाँ हरेक एप र एल्गोरिदमले तपाईँको ध्यान तान्न खोजिरहेका छन्, आफूलाई प्रविधिबाट अलग देखाउनु नै एउटा ठूलो चाहना बनिरहेको छ।
अनि कमला ह्यारिसको त्यो प्रसङ्ग जहाँ उनले सुरक्षाका कारणले तारवाला हेडफोन प्रयोग गर्ने कुरा गरिन्। यसको अर्थ तपाईँको एयरपड्सले गोप्य रूपमा जासुसी गरिरहेको छ भन्ने होइन, तर मानिसहरूको प्रतिक्रियाले के देखायो भने, 'अदृश्य प्रविधि' माथिको विश्वास बिस्तारै टुट्दै गइरहेको छ।

अन्त्यमा

मानिसहरू थकित छन्। अत्यधिक डिजिटलाइजेशनबाट थकित र विज्ञापनका लागि वस्तु जस्तै प्रयोग हुनबाट थकित। मानिसहरू भन्दैछन्, "के हामी हाम्रा बटन र तारहरू फिर्ता पाउन सक्छौँ?"

उपभोक्ताहरूले प्रविधिलाई नै अस्वीकार गरेका होइनन्, उनीहरूले प्रविधिको 'अति' लाई अस्वीकार गरेका हुन्। हामी फेरि आधारभूत कुराहरूमा फर्किरहेका छौँ। यो केवल एउटा हेडफोन मात्र होइन, बरु साँस्कृतिक रूपमा यसले एउटा गहिरो कुराको सङ्केत गर्छ-प्रविधिको तडकभडक विरुद्धको एउटा सानो विद्रोह।